समाज


लकडाउनमा खटेका पेरुका १७ प्रहरीको कोरोना भाइरसका कारण मृत्यु

लकडाउनमा खटेका पेरुका १७ प्रहरीको कोरोना भाइरसका कारण मृत्यु

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ८:२५,

कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्।

अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोभिड–१९ बाट कम्तिमा एक हजार ३०० जना प्रहरीहरु संक्रमित भएको स्वीकारेका थिए।

देशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त भएका गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार पत्रकारहरुसँग कुरा गर्दै देशभर १७ जना प्रहरीको मृत्यु भएको र त्यसमध्ये ११ जना राजधानी लिमाका रहेको जानकारी दिए।

पेरुको सरकारी समाचार समिति एन्डिनाले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्नेक्रममा ठूलो संख्यामा प्रहरीहरु कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ।

पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ। गृहमन्त्री रोड्रिगेजले पेरूको प्रहरीका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर बराबरको मास्क र ग्लोबसमेतका सुरक्षा सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।

उनले प्रहरी बलको करिब दुई लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको बताए। “संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। प्रहरी बल राम्रोसँग सुसज्जित हुनै पर्दछ” उनले भने।

जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणना अनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित रहेका र ७०० जनाको मृत्यु भइसकेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .