समाज


बाहिरी जिल्लाबाट आएका ६८० जनाले पूरा गरे क्वारेन्टिन अवधि

बाहिरी जिल्लाबाट आएका ६८० जनाले पूरा गरे क्वारेन्टिन अवधि

नारायण अधिकारी
बैशाख १४, २०७७ आइतबार ८:३९,

अन्यत्रबाट जिल्ला प्रवेश गरेका ६८० जनाले क्वारेन्टिन अवधि पूरा गरेका छन्। कोभिड–१९ को संभावित जोखिम हुन नदिन अन्यत्रबाट जिल्ला आएकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार सार्वजनिक क्वारेन्टिनमा रहेका ३५ र होम क्वारेन्टिनमा रहेका ६४५ जनाले क्वारेन्टिन अवधि पूरा गरेका हुन्।

चैत महिनापछि विभिन्न देशबाट नेपाल आएका र अन्तरजिल्ला आउनेलाई क्वारेन्टिनमा राखिएको थियो। अहिले जिल्लाका ६६ सार्वजनिक र होम क्वारेन्टिनमा रहेको उनले जानकारी दिए। सार्वजनिक क्वारेन्टाइनमा ६४ र होम क्वारेन्टाइनमा ६८२ रहेका थिए।

अहिले तीमध्ये २९ सार्वजनिक क्वारेन्टिनमा र ३७ होम क्वारेन्टिनमा रहेका छन्। कालिका नगरपालिका र राप्ती नगरपालिकामा रहेका सार्वजनिक क्वारेन्टिनमा २९ रहेका छन्। लकडाउनको समयमा विभिन्न स्थानबाट जिल्लामा आएकालाई १७ दिनसम्म क्वारेन्टिनमा राख्ने गरिएको छ। अहिले क्वारेन्टिनमा रहेकामध्ये पाँच विदेशबाट आएका र अन्य ६१ अन्तर जिल्लाबाट यहाँ आएका रहेको सूचना अधिकारी सिम्खडाले बताए।

होम क्वारेन्टिनमा बस्नेलाई स्थानीय तहका स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गरी राखिएको छ। लकडाउनको समयमा छिमेकी देश भारतको सिमानामा रोकिएकाहरु आजबाट जिल्लामा आउने भएकाले क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्ने उनले बताए। भारतमा क्वारेन्टिनमा बसेकालाई पनि जिल्लामा ल्याएपछि पुनः क्वारेन्टाइनमा राखिने उनको भनाइ छ। सिमानामा रोकिएका नेपाल आउँदैछन्। उनीहरुलाई पुनः क्वारेन्टिनमा राखिने छ। उनीहरु आज साँझसम्म जिल्लामा आइपुग्नेछन्।

जिल्लामा हाल ३०० क्षमताको क्वारेन्टाइन र २९९ जना क्षमताको आइसोलेसन रहेको उनको भनाइ छ। जिल्लाका अन्य स्थानमा समेत क्वारेन्टाइन राख्नका लागि स्थानीय तहसँग समन्वय गरी पहिचानको काम भइरहेको उनले बताए। हालसम्म जिल्लामा ८२९ जनाको -यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनीहरुमध्ये दुईमा पोजेटिभ र एक जनामा शंकास्पद नतिजा देखिएको थियो। पोजेटिभ देखिएकाको स्वाब परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको थियो भने शंकास्पद देखिएकी ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएकामध्ये २७ वर्षीय छोरालाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ भने आमाको नतिजामा पेजेटिभ देखिएपछि अस्पतालमै राखी उपचार भइरहेको छ। यहाँ रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा ४७२ जनाको पिसीआर परीक्षण गरिसकिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .