समाज


उपचार सेवा विस्तार नहुँदा निराश छन् नेपालमै उत्पादन भएका पहिलो विशेषज्ञ हेमाटोलोजिस्ट

उपचार सेवा विस्तार नहुँदा निराश छन् नेपालमै उत्पादन भएका पहिलो विशेषज्ञ हेमाटोलोजिस्ट

प्रज्ञा तिम्सिना
कात्तिक ५, २०८२ बुधबार १६:५५, काठमाडौँ

रक्त क्यान्सर (ल्युकेमिया) को लक्षण लिएर बिरामी लुम्बिनी प्रादेशिक अस्पताल पुग्छन्। हड्डीको मासीबाट सुरु हुने यो क्यान्सरको लक्षण डा विक्रम कार्कीले पत्ता त लगाउँछन् तर त्यसको परीक्षण भने लुम्बिनी प्रादेशिक अस्पतालमा हुँदैन। त्यसैले उनी बिरामीलाई काठमाडौं रिफर गर्छन्। 

रक्त कोसिकाहरूमा देखिने ‘लिम्फोमा’ क्यान्सरको लक्षण लिएर आएका बिरामीलाई पनि उनी काठमाडौँ रिफर गर्छन्। 

ओपीडीमा बिरामी हेर्ने, रोग पहिचान गर्न ल्याब नहुँदा काठमाडौं पठाउने।

गत फागुनमा निजामती कर्मचारी (सिभिल) अस्पतालबाट तीन वर्षे डीएम सकेर दुई वर्षे बोर्डिङ गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुगेका कार्कीको दैनिकी बनेको थियो– बिरामी रिफर गर्नु। 

‘सामान्य उपचार गरेपछि काठमाडौं नै जानुहोस्। त्यहाँ स्रोतसाधन छ भन्नुपर्थ्यो। उपचार गर्न सक्ने क्षमता भए पनि स्रोतसाधन नहुँदा बिरामीलाई रिफर गर्नु पर्ने बाध्यता थियो,’ उनले भने। 

विशेषज्ञता अनुसारको उपचार गर्न नपाउँदा टिचिङ, पाटन, वीर र सिभिल अस्पतालमा उनले बिरामी पठाउने गरेका थिए। रिफर गर्ने क्रम दुई महिनासम्म चलिरह्यो। 

उपचार गर्न सकिने बिरामीलाई पनि रिफर गर्नुपर्ने बाध्यताका कारण उनले काठमाडौं नै फर्किने निधो गरे। तीन वर्षे डीएममा सिकेको ज्ञान प्रयोग गर्न नपाएपछि उनी काज मिलाएर अहिले सिभिल अस्पताल नै फर्किएका छन्। त्यसपछि भने हेमाटोलोजी विभागमा कार्यरत डा कार्कीले आफैँले बिरामीको उपचार गर्न पाएका छन्।

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई स्रोतसाधन होस् कि नहोस् बाहिर जानैपर्ने बाध्यात्मक नियम बनाइएको उनी बताउँछन्। 

‘दुई महिनासम्म ओपीडीमा बिरामी चेक गर्ने मात्र काम भयो, न बिरामीको रोग पहिचान गर्न सकिन्छ, न त उपचार गर्न नै,’ उनी भन्छन् ‘पढे अनुसार काम गर्न नपाएपछि सिभिल अस्पताल नै फर्किने निर्णय गरेको हुँ।’

रक्तजन्य रोगको उपचार गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले पहिलोपटक सिभिल अस्पतालमा सुरु गरेको हेमाटोलोजी विषयमा डीएम गरेका उनी पहिलो चिकित्सक हुन्। 

हेमाटोलोजी विषयमा नेपालमा उत्पादन भएको पहिलो विशेषज्ञ (डीएम) डाक्टर कार्कीमा पहिला छुट्टै जोसजाँगर थियो। न्याम्सले पहिलोपटक निजामती कर्मचारी अस्पतालमा सुरु गरेको हेमाटोलोजी विषय पढ्न पाउँदा उनको खुसीको सीमा नै थिएन।

छात्रवृत्तिमा पढेका उनी जब राजधानी बाहिर पुगे, उनमा त्यो जोस हरायो। बाँकी जोस नसेलाओस् भनेर काठमाडौँ फर्किनुपरेको उनको भनाइ छ।

सैनिक बन्न चाहन्थे
२०४२ सालमा काठमाडौंको ताकेश्वरमा जन्मिएका कार्कीले पृथ्वीनारायण माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि अमृत साइन्स क्याम्पसमा आइएस्सी गरे। लक्ष्य थियो– सेनामा भर्ती हुने।

उनले पढ्दै गर्दा माओवादी द्वन्द्व चलिरहेको थियो। जसका कारण परिवारले सेनामा पठाउन चाहेन। परिवारको साथ नपाएपछि उनको यात्रा मोडियो। त्यो समय चिकित्सक पेसा आकर्षक मानिन्थ्यो। उनी चिकित्साशास्त्र पढ्न एमबीबीएसको तयारीमा जुटे। सन् २००७ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्न पाए। 

एमबीबीएस अध्ययनपछि प्रतिष्ठानमा नै मेडिकल अफिसर भएर काम गरे। 

उनले प्रतिष्ठानमा नाक, कान तथा घाँटी रोग विषयमा एमडी गरे। डेढ वर्ष पढेपछि उनलाई सो विषयमा रुचि घट्दै गयो। 

एमडीको दोस्रो वर्ष अध्ययनलाई छाडेर काठमाडौं फर्किए। सोही वर्ष उनको बुबालाई हृदयाघात भयो। बुबाको स्वास्थ्यमा समस्या देखिएपछि उनले काठमाडौं छोडेर तत्काल कतै नजाने निधो गरे। 

काठमाडौंमा बस्दा एमडी गर्न अन्य विषय खोजे र पुनः प्रवेश परीक्षाको तयारीमा जुटे। चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा ‘मेडिसिन’ विषय पाए। काठमाडौँ मेडिकल कलेज (केएमसी) मा एमडी गर्न थाले। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले पहिलो पटक हेमाटोलोजी विषयमा डीएम सुरु गर्दै थियो। एमडीपछि हेमाटोलोजिस्ट विषय अध्ययन गर्ने निर्णय गरे उनले। हेमाटोलोजी विषय पढाउन पहिलो पटक निजामती कर्मचारी अस्पतालले स्वीकृति पाएको थियो। चिकित्सा शिक्षा आयोगले न्याम्सलाई १ सिट दिएको थियो। 

एमडीपछि हेमाटोलोजी विषयमा डीएम गरेका चिकित्सक पनि कम देखे उनले। त्यसैले हेमाटोलोजी अध्ययन गर्ने निर्णय गरे। अनि नेपालमै पहिलो पटक हेमाटोलोजी विषयमा डीएम गर्ने पहिलो चिकित्सक बनेर निस्किए। 

छात्रवृत्तिमा अध्ययन गरेकाले सरकारले तोकेको स्थानमा २ वर्ष काम गर्न जानुपर्ने प्रावधान छ। जसकारण उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए। तर जब उनी राजधानीबाहिर पुगे, तब उनले स्वास्थ्य सेवामा असमानता देखे। साथै, चिकित्सकको सीप र अनुभव पनि काम नआउने अवस्था रहेको बुझे। 

उनी विशेषज्ञता भएको चिकित्सकलाई स्रोतसाधन भएको स्थानमा राख्नुपर्ने बताउँछन्। 

‘पढेर विशेषज्ञता लिएर मात्र हुँदैन, विशेषज्ञता अनुसार बिरामीको उपचार गर्न स्रोतसाधन पनि चाहिन्छ। जुन नेपालको धेरै अस्पतालमा छैन,’ उनी थप्छन्, ‘उत्पादन भएको दक्ष जनशक्तिलाई काम गर्ने वातावरण पनि बनाइदिनु पर्छ।’

‘हाल सिभिल अस्पतालले बोनम्यारो प्रत्यारोपण सुरु गरिसकेको छ। जिन थेरापी ल्याउन खोजिएको छ। सिभिल अस्पताल जस्तै अन्य अस्पताललाई पनि विकास गर्दै लैजान पर्छ,’ डा कार्कीले भने। 

रगतजन्य रोगको उपचार गर्ने चिकित्सक अभाव
रगत र त्यससँग सम्बन्धित अंगहरूमा देखिने समस्याको उपचार गर्ने विशेषज्ञलाई हेमाटोलोजी चिकित्सक भनिन्छ। यी चिकित्सकले रक्तअल्पता (एनेमिया) देखि रक्त क्यान्सर (ल्युकेमिया), रगत बग्न नरोकिने (हिमोफिलिया), रातो रक्तकोष उत्पादन कम हुने (थालेसिमिया) रगत जम्ने समस्या (थ्रोम्बोसिस), बोनम्यारो प्रत्यारोपण लगायतका जटिल रोगहरूको उपचार गर्छन्। 

यसैगरी,  क्यान्सरका बिरामीहरूका लागि रगत चढाउने प्रक्रिया, किमोथेरापी तथा बोन म्यारो ट्रान्सप्लान्ट जस्ता आधुनिक उपचार प्रविधि अपनाउने जिम्मेवारी पनि हेमाटोलोजी विशेषज्ञकै हुन्छ। 

तर, नेपालमा यस्ता रोगको उपचार गर्ने चिकित्सक र अस्पताल दुवैको कमी छ। हाल काठमाडौँका ठूला सरकारी अस्पताल र केही निजी अस्पतालमा मात्र  यो उपचार हुने गरेको छ। रगतजन्य रोगको उपचार गर्ने विशेषज्ञता (डीएम) गरेका चिकित्सक समेत निकै कम छन्। हेमाटोलोजीमा फेलोसिप गरेर आएका केही छन्। डीएम गरेका २–३ जना मात्र चिकित्सक छन्। 

नेपालमा चिकित्सकको जनशक्ति कम देखेर नै यो विषय छनोट गरेको कार्की बताउँछन्। तर नेपालका धेरै अस्पतालमा रगतरोगको पहिचान र उपचार गर्न स्रोतसाधनको अभावका कारण उपचार नहुने उनी स्वीकार्छन्। 

‘स्रोतसाधन नहुँदा सबै चिकित्सक काठमाडौँ केन्द्रित हुनु परेको छ। बिरामीलाई उपचारका लागि काठमाडौँ नै आउनु पर्छ, सरकारले चिकित्सकको दरबन्दी सँगै उपचार हुने अस्पताल पनि थप गर्नुपर्छ,’ कार्की भन्छन्। 

नेपालमा उपचार हुने बिरामीलाई पनि भारत रिफर गर्ने गरिएकोमा उनी असन्तुष्टि पोख्छन्। 

‘निजामती कर्मचारी अस्पतालमा सन् २०१६ देखि बोनम्यारो प्रत्यारोपण सुरु भयो। तर चिकित्सकले नै भारत पठाउने गर्दा दुःख लाग्छ। सस्तो नेपालमा नै हुन्छ। १२ देखि १५ लाखमा बोनम्यारो प्रत्यारोपण हुने गरेको छ। तर, चिकित्सकले नै बिरामीलाई बाहिर रिफर गर्नुहुन्छ,’ उनी भन्छन्।

त्यसैले उनी सरकारले हेमाटोलोजिस्टका लागि छुट्टै नियुक्ति दिने व्यवस्था गर्नुपर्ने बताउँछन्। 

‘स्रोतसाधन जुटाउनुपर्छ। वर्षेनि विशेषज्ञ चिकित्सक उत्पादन हुँदै गएका छन्। काठमाडौँबाहिर कम्तीमा प्रादेशिक अस्पतालमा त सेवा विस्तार गर्नुपर्छ,’ उनी भन्छन्, ‘रगतजन्य रोगहरू बढ्दो छ। हामीसँग उपचार गर्ने चिकित्सक र अस्पताल कम छन्। झन् उत्पादन भएको जनशक्तिलाई काम गर्ने स्रोतसाधन विस्तार गर्न नसक्ने हो भने विदेश पलायन हुने जोखिम बढ्छ।’

नेपालमा नै बसेर सेवा गर्छु भनेर हेमाटोलोजी विषय छनोट गरेको भन्दै डा कार्की हेमाटोलोजी सेवालाई सबै अस्पतालमा विस्तार गर्दै लैजानु पर्ने बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad