गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका-१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक नेपालीको शव नेपाली सेनाले फेला पारेको छ।
खोजीकार्यका लागि आवश्यक इक्युपमेण्ट तथा नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित शुक्रबार सेनाको टोली हेलिकोप्टर मार्फट घटनास्थलतर्फ गएको थियो। उद्धार गरिएको शव धादिङका मेमबहादुर तामाङ (पोर्टर) को भएको बताइएको छ। घटनास्थलमा तीन वटा झोला पनि फेला परेको छ।
हिम पहिरोमा परि तीन नेपाली गाइड तथा चार कोरियन पर्यटक बेपत्ता भएका थिए। त्यसमध्ये शुक्रबार एक नेपालीको शव पहिरोबाट निकालेर सेनाले प्रहरीको जिम्मा लगाएको हो।
हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र हाल थप एक नेपालीको शव फेला परेको सेनाले जनाएको छ।
शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजीकार्यका लागि पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोली खटिएको थियो।
शवलाई परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। हराइरहेका बाँकी एक नेपाली र चार कोरियालीको खोजी भइरहेको सेनाले जनाएको छ।
सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले बेपत्ता फेला परेका छैनन्। नेपाली सेनाले खोज तथा उद्धारकार्यलाई निरन्तरता दिइने जनाएको छ। यस सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि जानकारी गराइने सेनाले जनाएको छ।
Shares

प्रतिक्रिया