प्रदेश १ काे उदयपुरको एकै ठाउँमा २८ जना कोरोना संक्रमित फेला परेपछि याे जिल्लासँग जाेडिएकाे प्रदेश २ लाई सरकाले उच्च निगरानीमा राखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८ संक्रमित भेटिएका उदयपुरको भुल्के क्षेत्रसँगै २ नम्बर प्रदेशका आठै जिल्लामा विशेष सतर्कता अपनाइएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअन्तर्गत शुक्रबार दिउँसो प्रवक्ता देवकोटाले भने, ‘त्यसका लागि प्रदेशका २ का आठै जिल्लाका विभिन्न २७ स्थानमा १५ सयभन्दा बढी थ्रोट स्वाब संकलन गर्ने लक्ष्यका साथ स्वास्थ्य सेवा विभाग, नेपाली सेनाका स्वास्थ्यकर्मी तथा प्रयोगशालाका प्राविधिकसहितको टोली आज (शुक्रबार) परिचालन भएको छ ।’
संकलित स्वाबमा कोरोना भाइरस छ कि छैन भनेर पीसीआर परीक्षण गरिने उनले बताए। देशका अन्य प्रदेश/जिल्लामा र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किटबाट शंकास्पद बिरामीको रगत जाँच्ने अभियान सञ्चलान गरिरहेको सरकारले प्रदेश २ मा भने सुरुमै पीसीआर अर्थात् मानिसको शरीरमा भाइरस छ कि छैन भनेर निश्चित गर्ने परीक्षण गर्न लागेको हो।
यस्तै २८ संक्रमित फेला परेका उदयपुरको भुल्के क्षेत्रका चाैदन्डीगढी र त्रियुगा नगरपालिकाबाट ७८ जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको उनले जानकारी दिए। भुल्के क्षेत्रको मस्जिदमा भेटिएका संक्रमितसँग सम्पर्क गरेका परिवारबाट स्वाब संकलन गरिएको प्रवक्ता देवकाेटाले बताए।
‘त्यस क्षेत्रमा थप स्वाब संकलन गर्ने क्रम जारी छ,’ उनले भने।

प्रतिक्रिया