समाज


सिमानाकामा रोकिएकाको प्रश्न, नेपाल आउन कहिले पाउने हो?

सिमानाकामा रोकिएकाको प्रश्न, नेपाल आउन कहिले पाउने हो?

नरेन्द्रसिंह कार्की
बैशाख १२, २०७७ शुक्रबार १०:४२,

कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो। सिमानाकामा धेरै नेपाली रोकिएका छन्। ‘भारत पिथौरागढको दार्चुलाको क्वारेन्टिनमा मात्र बसेको एक महिना बित्न लाग्यो। पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन्। हामी पौडन नसकेरै क्वारेन्टिनमै छौँ’, बैतडीका दीपक चुनाराले भने, ‘स्वदेश फिर्ता ल्याउँछौं ल्याउँछौँ भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो?’

उनले क्वारेन्टिनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोखे। गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरु घर फर्किन पाएका छैनन्। क्वारेन्टाइनमा बसेकाहरु अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन्।

भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बसेका उनीहरुले अहिलेसम्म आफूहरुको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन्। उनीहरु एक महिनासम्म आफूहरुलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन्।

अमृत बोहरा भन्छन्, ‘क्वारेन्टिनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ। एउटै देशका नागरिकमाथि किन विभेद?’ नेपालमा पौडिएर गएकाहरु आफ्नो गाउँघरका क्वारेन्टिनमा छन् भने कोही गाउँ पुगिसके। भाग्न नसक्नेहरु यहाँ बस्नुपरेको बोहराको भनाइ छ।

उनले भने, ‘क्वारेन्टिनबाट भागेर जानेहरुका कारण आफूहरुले समस्या झेल्नुपरेको छ। शौचालय जाँदा पनि केरकार गर्न थालेका छन्। दिशा गर्न महाकाली किनार जानुपर्छ। प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ। गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ?’ उनले भने।

तर उनीहरुसँगै क्वारेन्टिनबाट भागेर आउने तथा ट्युबबाट महाकाली पौडिएर शुक्रबारसम्म २२० जना नेपाल प्रवेश गरेका छन्। लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सिमानाका बन्द गरी सिमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरु महाकालीबाट अवैध रुपमा भित्रिएका हुन्।

गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उनका श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन्। उनीहरु महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिए।

रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

आजसम्म यहाँका पाँच वटा क्वारेन्टिनमा एक हजार ६३ जना व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भारतमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुनः अनुरोध गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टिनमा रहेकाको समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए।

‘हामीले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई तयार रहन भनेका छौँ’ प्रजिअ पौडेलले भने, ‘सरकारले निर्णय गर्नेबित्तिकै उद्धार हुन्छ। अहिले स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत् राख्न आग्रह गरेका छौँ।’

भारतमा रहेका नेपालीलाई यही वैशाख १५ गतेभित्र स्वदेश ल्याउन स्थानीय तहका जनप्रतिनिधिले समेत आग्रह गरेका छन्। बैठकमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समस्यामा रहेको भन्दै तत्काल उनीहरुको उद्धार गर्नुपर्ने बताए।

‘चार सातादेखि उनीहरु अप्ठ्यारोमा छन्’, उनले भने, ‘उनीहरुलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ।’

जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरुलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताए। तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरुले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए।

बैठकका एक सहभागीका अनुसार दुई/तीन दिनभित्र सरकारले आदेश नगरे पनि स्थानीयस्तरमा सहमति गरेर ल्याउने कुरामा बैठकका सहभागी एकमत देखिएका छन्।

बैठकमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad