समाज


बाजुरामा दुई अनमीले ५ घण्टा मुखैले कृत्रिम श्वास दिएर बचाए शिशुको ज्यान

बाजुरामा दुई अनमीले ५ घण्टा मुखैले कृत्रिम श्वास दिएर बचाए शिशुको ज्यान

प्रज्ञा तिम्सिना
असोज २७, २०८२ सोमबार २०:३२, काठमाडौँ

असोजको २० गते। अविरल वर्षासँगै देशका विभिन्न भेगमा कतै बाढी त कतै पहिरो। धेरै ठाउँमा बाटो बन्द हुँदा सडकमा गाडीको लाम थियो। सरकारले पनि अत्यावश्यक काम नपरी नहिँड्न आग्रह गरेको थियो।  

सोही दिन दिउँसो १२ बजे बाजुरा गौमुल गाउँपालिकाकी निशा बोहरालाई सुत्केरी व्यथाले च्याप्यो। निशाको गर्भको बच्चा उल्टो बसेको भनेर जिल्ला अस्पताल बाजुराका चिकित्सकले भनेका थिए। त्यसैले उनलाई अस्पताल कसरी पुर्‍याउने भन्ने हतारो परिवारलाई भयो। तर, गाडी चलेका थिएनन्, जसकारण दसैँ मनाउन माइत आएकी उनलाई परिवारले माडी स्वास्थ्य संस्थामा लैजाने निधो गरे। त्यो पनि दुई घण्टाको दूरीमा थियो। 

व्यथासँगै लामो यात्राबाट अस्पताल त पुगियो तर सरकारले बिदा दिएका कारण स्वास्थ्य संस्था बन्द थियो। 

निशाको परिवारले स्वास्थ्य संस्थामा कार्यरत अनमी अनिता रोकायलाई फोन गरेर बोलाए। अनिता स्वास्थ्य संस्थामा पुग्दा २९ वर्षीया निशाको गर्भमा रहेको बच्चाको खुट्टा बाहिर निस्किसकेको थियो। 

अनिताले आफू एक्लैले सुत्केरी गराउन नसक्ने देखेपछि गौमुल गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अनमी रमा थापालाई बोलाउँछिन्। रमा दसैँ बिदामा घर आएकी थिइन्। 

रमा पनि स्वास्थ्य संस्था पुग्छिन्। निशाको अवस्था देख्दा अन्यत्र रिफर गर्दा झन् समस्या हुने भन्दै त्यही सुत्केरी गराउने निर्णय उनीहरूले लिए। बच्चाको टाउको अड्किएपछि शिशुलाई बचाउन नसके पनि आमा बचाउन पर्छ भन्दै उनीहरू लागे। 

‘२ घण्टासम्म शिशुको टाउको पेटमा नै अड्किए पछि बचाउन सकिँदैन होला भन्ने लाग्न थालिसकेको थियो,’ अनमी रमा भन्छिन्, ‘हामीले सकिँदैन कि भन्ने ठानेका थियौँ। तर, निशाले हार खाइनन्, ३ बजेर ४५ मिनेट जाँदा हामी शिशु निकाल्न सफल भयौँ।’

बच्चा त जन्मियो। तर, शिशुको चालचुल केही थिएन।

‘बच्चा जन्मिनेबित्तिक्कै रुने, हातखुट्टा चलाउने केही पनि भएन, शिशु जीवित छैन जस्तो लागेको थियो,’ उनले भनिन्, ‘मुखबाट कृत्रिम श्वास दिन थाल्यौँ। ५ मिनेटपछि शिशुले केही आवाज निकाल्यो, त्यसपछि बचाउन सकिन्छ कि भनेर लगातार मुखबाट श्वास दिन थाल्यौँ।’

‘श्वास दिन प्रयोग गरिने अम्बुु ब्याग झिकेर हामीले बच्चालाई कृत्रिम श्वास दिन प्रयास गर्‍यौँ। तर, अम्बुु ब्यागको साइज र बच्चाको मुखको साइज मिलेन। त्यसपछि मैले मुखले श्वास दिन थालेँ,’ रमाले सुनाइन्। 

रमाका अनुसार कृत्रिम श्वास दिएको लामो समयसम्म पनि शिशु रुने तथा  छाती धड्किने जस्ता थप प्रतिक्रिया दिएको थिएन। 

तत्काल अक्सिजन र भेन्टिलेटरको सहयोग चाहिएको थियो। तर, न ती उपकरण स्वास्थ्य चौकीमा थिए, न अन्यत्र पठाउने अवस्था नै थियो।

‘स्वास्थ्य संस्थामा भएका हामी सबैले निरन्तर कृत्रिम श्वास दिन थाल्यौँ। करिब ५ घण्टासम्मको कृत्रिम श्वासप्रश्वासपछि शिशुले प्रतिक्रिया जनाउन थालेको थियो,’ उनले भनिन्।

अनमी रमाले भनिन्, ‘बिस्तारै बच्चाको श्वास र मुटुको धड्कन चल्न थाल्यो। ३.४५ मा जन्मिएको शिशु रातिको ९ बजेपछि हातखुट्टा चलाउन थाल्यो। अलिअलि श्वास फेर्‍यो, त्यसपछि एकपटक रोकेको थियो। अब त बच्चा बाँच्न सक्छ भन्ने लाग्यो, सास दिँदै गयौँ, १० बजे फेरि रोयो, चम्चाले दूध खुवायौँ, बिस्तारै सुधार आयो।’

शिशु बचाउन सफल भएकोमा आफूहरू अत्यन्त खुसी भएको उनको भनाइ छ।

‘हामीले त शिशु बचाउन सक्दैनौँ भन्ने सोचेका थियौँ। तर पनि सबै स्वास्थ्यकर्मी लाग्यौँ। जोखिमपूर्ण सुत्केरी पनि गरायौँ, निसास्सिएको शिशु पनि बचायौँ,’ रमा भन्छिन्, ‘सबै जना मिलेर आमा र शिशुको ज्यान बचाउन सफल भयौँ।’ 

जन्मिँदा बच्चाको तौल २६ सय ग्राम थियो। अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको र दुवै जना घरमै स्वास्थ्यकर्मीको निगरानीमा रहेको अहेब ललिता रोकायाले बताइन्।

गत साउन ८ गते बैतडीको कान्धार आधारभुत स्वास्थ्य केन्द्रमा पनि ६ घण्टा कृत्रिम श्वास दिएर अनमी जानकी पुजाराले शिशुको ज्यान बचाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad