समाज


बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने

बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने

नेपालखबर
असोज २२, २०८२ बुधबार १३:५६, काठमाडौँ

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा अर्को उजुरी परेको छ। 

बुधबार युवराज पौडेल सफलले उनीहरुविरुद्ध जाहेरी दिएका हुन्। सुरुमा आफैँ प्रहरी कार्यालय पुगेका सफलको जाहेरी लिन प्रहरीले नमानेपछि उनले हुलाकमार्फत पठाएका हुन्। 

काठमाडौँ परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उजरी आएको पुष्टि गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाउने बताए। 

यसअघि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उनीहरुविरुद्ध जाहेरी दिएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विध्वश मच्चाउन उनीहरुको प्रमुख भूमिका रहेको सफलको जाहेरीमा उल्लेख छ। 

बालेनले यो विध्वशको योजना बनाएको, डिजाइन गरेको र सामाजिक सञ्जालबाट जेनजी समूहलाई उस्काउने, विभिन्न घटना घटाउन निर्देशन दिएको आरोप सफलले लगाएका छन्। 

अर्का विपक्षी सुदन गुरुङले सिंहदरबार, सर्वोच्च अदालत लगायत जलाउन र सम्पूर्ण जेनजी आन्दोलनलाई विध्वंश मच्चाउन समेत भूमिका खेलेको आरोप छ। 

बालेनले २ वर्ष पहिले नै उनकी श्रीमती चढेको गाडी प्रहरीले चेक गर्दा सिंहदरबार जलाइदिन्छु भनेर लेखेको समेत सफलले आफ्नो जाहेरीमा उल्लेख गरेका छन्।

आन्दोलनका क्रममा र आन्दोलनरत जेनजीलाई ओलीको राजीनामापछि साँझ स्टाटस लेखेर आन्दोलन रोक्न, नेपाली सेनासँग वार्ता गर्न, संसद् विघटन गराउन भनेको उल्लेख छ। यी कुराले बालेनले जेनजी आन्दोलनको नेतृत्व गरेको देखिने जाहेरीमा उल्लेख छ। 

विदेशीको इसारामा अहिले प्रधानन्यायाधीश र न्यायाधीशहरुको राजीनामा माग्न लगाउन पनि उनको भूमिका रहेको सफलको आरोप छ। सुदन गुरुङको टोली आन्दोलनमा मिसिएपछि मात्रै गोली चलेको, वास्तविक जेनजीहरु घुसपैठ भयो भनेर फर्किएका कारण उनीहरुमाथि छानविन आवश्यक रहेको उल्लेख छ।
 
बालेन्द्र र सुदनलाई राजद्रोह सम्बन्धी कसुरमा हदैसम्मको कारबाही माग गरिएको छ। यस्तै सुदन गुरुङले भने जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका थिए।

उनले दिएको उजुरी पनि प्रहरीले आयोगमै पठाइदिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad