जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ। कारागारमा रहेका २० महिलासहित ३२७ कैदीबन्दीमध्ये १३५ जना अझै आउन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ।
त्यसैगरी, कास्की, चितवन, धादिङ र काठमाडौंका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिंह बोहराले जानकारी दिए।
बेँसीसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो।
लमजुङ कारागारबाट ६ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो। दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ।
आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
'एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्। तर, केही जघन्य अपराधका कैदीबन्दी फरार हुन सक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ,' उनले भने।
Shares

प्रतिक्रिया