साहित्य


लघुकथा: मिथ्या कवच

लघुकथा: मिथ्या कवच

युवराज मैनाली
असोज २०, २०८२ सोमबार १२:३१, काठमाडौँ

अग्निगढ देशको दुर्ग लौहकवचद्वारा वेष्ठित थियो। प्रजाहृदयका स्वेदबिन्दुले निर्मित त्यो आवरणलाई उनीहरूले आफ्नो इष्टदेवभन्दा उच्च आसनमा स्थापित गरेर आराधना गर्दथे।

नेत्रज्योति नै विलुप्त गराउने चम्किला आयुध, आकाश नै मेघमय प्रतीत हुने गरी प्रदर्शन हुने कौशल, सुवर्णशोभायुक्त चतुरङ्गिनी दलले रैतीहरूको शब्दकोशबाट ‘भय’लाई निवृत्त गराइदिएको थियो।

पहिलोपटक, कालरात्रिको प्रलयघण्टी सिंहासनारूढ सम्राटको श्रुतिपटलमा तरङ्गित भयो। राजमहलको गर्भगृह रक्तकमलले आवृत्त भयो। अनि महाराजले प्रासादबाट सपरिवार बिदा लिए।

केही समयपछि अर्का महाराजले पुनः सिंहासनमा प्रलयकारी भूकम्पको धक्का महसुस गरे। कवचबाट एक्लिएका उनी ‘महाराज’को नासो सङ्ग्रहालयलाई सुम्पिएर तपोवनतर्फ प्रस्थान गरे। रजौटाहरूले भरिपूर्ण अग्निगढमा तेस्रोपटक शीतलदुर्ग स्वयम् अग्निदेवको ताण्डवपीठ बन्न पुग्यो र क्षणभरमै त्यो गर्विलो दरबार धुम्रपुञ्ज, भस्म र शून्यतामा परिणत भयो।

अन्ततः जनसागरले व्याकुल मुद्रामा अनुभूति गर्‍यो, ‘कवचको दीप्ति त जादुगरद्वारा प्रदर्शित चमत्कारजस्तै मिथ्या रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad