तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने बाँकेको नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
६ हजारमा खरीद गरेको थर्मोमिटर १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारबाही गरेको हो।
लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए।
अनुगमन टोलीले उक्त औषधि पसललाई खरीद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिई बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ।
समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको छ। टोलीले यसअघि औषधिमा कालोबजारी गरेको अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई दुई लाख र कमला मेडिसिनलाई ५० हजार जरिवाना गरिसकेको छ।
प्रतिक्रिया