झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ।
क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्द उनीहरुको बानी सुध्रिने अपेक्षा गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔषधको खान नपाएर छटपटाएका अधिकांश प्रयोगकर्ता बन्दाबन्दी उलंघन गर्दै सडकमा निस्केर उत्पात मच्चाउन थालेको स्थानीयवासीले गुनासो गरेका छन्।
बन्दाबन्दीले लागुऔषध व्यापारको जालो भत्किएपछि कुलतमा लागेका कतिपय युवा रातिको समयमा समेत सुरक्षाकर्मीको आँखा छलेर सीमा क्षेत्रबाट भारततिर पस्ने गरेको घटना बढेका छन्।
अब स्थानीय राजनीतिक दलहरुसँगको सहमतिमा नगरपालिकाले गरेको निर्णयअनुसार कुलतमा लागेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालिसकेको छ ।
बन्दाबन्दीको अवज्ञा गर्दै पूर्वी नाकाबाट भारततिर जाने र स्थानीयवासीलाई त्रसित बनाउँदै जथाभावी हिँड्ने लागुऔषध प्रयोगकर्तालाई मेचीनगर नगरपालिकाको पहलमा प्रहरीले क्वारेन्टाइनमा राख्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिए।
क्वारेन्टाइनमा राखिएका त्यस्ता व्यक्तिलाई लागुऔषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गरिने उनले बताए।
मेचीनगर–८ स्थित इँटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई विशेष क्वारेन्टाइन बनाइ उनीहरुलाई बुधबारदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन्।
नगर क्षेत्रका १५० लागुऔषध प्रयोगकर्तालाई विशेष क्वारेन्टाइनमा राख्ने योजना छ। बुधबार नै काँकडभिट्टा आसपासबाट सीमा काटेर भारततिर लागुऔषध लिन जाँदै गर्दा पक्राउ परेका छ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
लागुऔषधको अभावमा भौतारिँदै हिँड्नेहरुबाट बन्दाबन्दी उलंघन मात्र नभएर सामाजिक अपराधका घटना बढ्नसक्ने आँकलन गर्दै शान्ति सुरक्षाका लागि समेत उनीहरुलाई क्वारेन्टाइनमा राखेर सुधार्न जरुरी भएको झापाका प्रहरी प्रमुख कोइरालाले बताए।
नगरपालिका र प्रहरीको यो पहललाई स्थानीय राजनीतिक दल र सामाजिक क्षेत्रका अगुवाहरुले सक्रिय सहयोग पु¥याउने जनाएका छन्।
नगरको कुनै पनि बजार र गाउँबाट लागुऔषधका प्रयोगकर्ताले बन्दाबन्दी उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ प्रहरीले स्थानीय जनप्रतिनिधिसँग मिलेर उनीहरुको खोजतलास गरी क्वारेन्टाइनमा ल्याउने व्यवस्था मिलाएको छ।
क्वारेन्टाइनमा राखिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सुरक्षाको विशेष व्यवस्था गरेको छ। क्वारेन्टाइनमा कडा अनुशासनमा राख्नुपर्ने र त्यहाँबाट भाग्ने प्रयास हुने सम्भावनालाई ध्यानमा राखी प्रहरीले विशेष सुरक्षाको प्रबन्ध मिलाएको हो।
क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीले जानकारी दिइन्।
उनीहरुलाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनुपर्ने भएको हुँदा मनोपरामर्शका लागि नगर क्षेत्रकै सुधार केन्द्रका विज्ञहरुलाई पालो मिलाएर क्वारेन्टाइनमा परामर्शका लागि बोलाइएको छ।
उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र सुधार भएकालाई अभिभावकको जिम्मा लगाएर घर पठाइने छ। बन्दाबन्दी लम्बियो भने क्वारेन्टाइनमै राख्ने र नत्र त्यहाँ रहेकालाई वैधानिक सुधारगृहमा पठाइने उप्रेतीको भनाइ छ।
यसअघि लागुऔषध सेवन गर्नका लागि बन्दाबन्दीको समयमा काठमाडौँबाट नक्कली चिकित्सकको भेषमा कार चढेर काँकडभिट्टा नाकामा आइपुग्दा पक्राउ परेका दुई युवा हाल मेचीनगरको क्वारेन्टाइनमै छन् भने लागुऔषधको खोजीमा निस्कँदा बन्दाबन्दी उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएका केही व्यक्ति क्वारेन्टाइनको झ्याल फोडेर भागेका थिए।
Shares

प्रतिक्रिया