आज (बिहीबार) पनि देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी भेगका धेरै तथा मध्यर पश्चिम तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ।
‘त्यस्तै दिउँसो १२/१ बजेदेखि वर्षा हुने देखिन्छ,’ मौसमविद् अर्यालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘प्रिमनसुनका बेला भएकाले मेघगर्जन/चट्याङ र हावाहुरीको पनि सम्भावना रहन्छ नै।’
पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज दिउँसो मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘आज दिनभरजसो नै काठमाडौं उपत्यकाको मौसम छ्याङ्ग हुने सम्भावना छैन,’ उनले भने।
यो खबर लेखिरहँदा पोखरा र आसपासका केही स्थानमा हल्का वर्षा भइरहेको हुन सक्ने मौसमविद् अर्यालले जानकारी दिए।

प्रतिक्रिया