छापा खबर


१० हजार नमुना परीक्षण गर्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारको बेवास्ता : किन्ने र कमिसन लिनेमै ध्यान

१० हजार नमुना परीक्षण गर्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारको बेवास्ता : किन्ने र कमिसन लिनेमै ध्यान

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १:२९,

१० हजारको कोरोना परीक्षण गर्न मिल्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारले वेवास्ता गरेको छ।  

सिंगापुरको टेमासेक फाउन्डेसनले दिएको फोर्टिट्युड किट २.० ल्याउन सरकारले रुचि नदेखाएपछि निजी क्षेत्रले जहाज चार्टर्ड गरेर ल्याइदिँदै छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

टेमासेक फाउन्डेसनले ४ अप्रिलमा प्रधानमन्त्री केपी ओलीकै नाममा पत्र लेखेर १० हजार नमुना परीक्षण गर्ने किट अनुदानमा दिने जानकारी गराएको थियो ।

ती किट नेपाल आफैँले ल्याउनुपर्ने टेमासेकले बताएको थियो । तर, सरकारले १८ दिनसम्म त्यसमा कुनै चासो नदेखाएपछि तीन व्यावसायिक समूहले सामूहिक रूपमा भाडा तिर्ने गरी किट ल्याउन जहाज चार्टर्ड गरेका छन्।

टेमासेकले भारतलाई पनि १० हजार तथा भुटान र श्रीलंकालाई पाँच–पाँच हजार टेस्ट गर्न मिल्ने किट अनुदानमा दिएको छ । उनीहरूले पिसिआर रिजेन्ट ल्याइसकेका छन् । टेमासेकले संसारका ४० देशलाई टेस्टिङ किट अनुदानमा उपलब्ध गराएको छ।

व्यवसायीहरू शेखर गोल्छा, पशुपति मुरारका र श्री एयरलाइन्सले ३३–३३ प्रतिशत भाडा व्यहोर्ने गरी बिहीबार जहाज सिंगापुर जाँदै छ।

सामान ल्याउन व्यवसायी रञ्जित आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् । ‘तीनवटै समूहले ३३–३३ प्रतिशत भाडा व्यहोर्ने गरी चार्टर्डमा जहाज पठाउन लागिएको हो,’ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने ।

लामो समयदेखि सामान सिंगापुरमा रहेको भन्ने थाहा भएपछि व्यवसायीको आग्रहमा श्री एयरलाइन्सको जहाज जान लागेको मानन्धरले बताए । सिंगापुर उडान गर्न सात देशको अनुमति चाहिने भएकाले उडानमा केही दिन ढिलो भएको उनले बताए ।

काठमाडौं–सिंगापुर–काठमाडौंं उडानमा करिब ११ घन्टा लाग्नेछ । प्रतिघन्टा आठ हजार डलरमा जहाज चार्टर्ड गरिएको स्रोतले जनाएको छ । जसको कुल भाडा भाडा ८८ हजार डलर हुन्छ ।

टेमासेकले अनुदानमा दिन लागेको सामानको मूल्य जहाजको भाडासहित दुई करोड ८० लाख हुने एक व्यवसायीले बताए । तर, सरकारले खरिद गरेको दरअनुसार सो सामानको मूल्य करिब पाँच करोड पर्न जाने देखिन्छ।

सिंगापुरको कम्पनीले अनुदानमा सामान दिने जानकारी दिएको भए पनि जहाज चार्टर्ड नै गर्नुपर्ने भएकाले ल्याउने विषयमा अन्योल भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए।

‘सामान दिने विषयमा सिसिएमसीमा पत्राचार भएको रहेछ, हामीलाई पनि जानकारी आयो, सो सामान लिन श्री एयरलायन्स जाँदै छ, त्यसैमा ल्याउलान्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad