दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ।
कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो।
कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा पनि नबस्न सरकारले अपिल गरिरहेका समयमा स्वास्थ्यकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) लगायत सुविधा माग गरेका कारण प्रतिष्ठानले आफूलाई निस्काशन गरेको स्वास्थ्यकर्मी प्रकृति डिसीले बताइन्।
कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रतिष्ठानले १६ महिनादेखि मेडिकल वार्डमा कार्यरत घोराही १५ का स्टाफ नर्स डिसीलाई करार सेवाको म्याद थप गरेन।
यसअघि प्रतिष्ठानमा कार्यरत डा. अमृता श्रेष्ठलाई पनि यही वैशाख १ गतेदेखि कममा नआउनू भन्ने व्यहोराको पत्र थमाइएको थियो।
स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ।
प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले म्याद सकिएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवकाश दिइएको बताए। ‘करार सकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा रोकेका हौंँ, सरकारले कार्यरत स्वास्थ्यकर्मीलाई बिदा नदिने भनेको हो, म्याद सकिएका कर्मचारीलाई काममा लगाउनेब भनेको होइन’, रजिष्ट्रार देवले भने।
देवका अनुसार केही स्वास्थ्यकर्मी आफैँले राजीनामा दिएका छन् भने केहीको म्याद थप गरिएन। ‘कुनै पनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई कसरी राख्न सक्छ र? सोहीबमोजिम उहाँहरुलाई पत्र थमाइएको हो’, उनले भने।

प्रतिक्रिया