बाहिरिनुपर्ने बेला मनसुन बलियो भई व्यापक वर्षा हुने सम्भावना बढेपछि देशका विभिन्न राजमार्ग तथा सडकमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
जल तथा मौसम विज्ञान विभागले आज असोज १७ देखि २० गतेसम्म देशव्यापी वर्षा हुने प्रक्षेपण जारी गरेपछि काभ्रे जिल्ला प्रशासनले बीपी राजमार्ग (काभ्रे भञ्ज्याङ–भकुण्डेबेँसी–सिन्धुली सडकखण्ड) मा हिजै असोज १६ गते रातिदेखि असोज २१ गते मंगलबारसम्म (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म) का लागि गाडी चलाउन रोक लगाइसकेकेको छ।
यसैगरी हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा पनि आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा साँज ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका हुन्।
उता मनाङ–लमजुङ सडकमा पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म मनाङ–लमजुङ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया