आज (सोमबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको क्रम जारी रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएराति पनि देशका विभिन्न स्थानमा पानी परेको छ।
‘खासगरी बागमती र गण्डकी प्रदेशका भूभागमा वर्षा भएको छ’, उनले सोमबार बिहान नेपालखबरसँग भने, ‘एक/दुई ठाउँमा भारी वर्षा पनि भएको छ।’
मौसमविद् अधिकारीका अनुसार आज बिहानीपख काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ। तर अहिले बिस्तारै रोकिने क्रममा रहेको उनले बताए।
‘बिहान साढे ४ बजेदेखि काठमाडौँ उपत्यकामा पानी परेको हो’, उनले भने, ‘अहिलेचाहिँ लगभग रोकिएको अवस्था छ।’
उनका अनुसार अब केही घण्टा पानी पर्ने सम्भावना देखिएको छैन। ‘बादल त लाग्छ तर आंशिक रूपमा घाम पनि देखिन्छ’, उनले भने, ‘तर अपराह्नतिर फेरि पानी पर्ने सम्भावना देखिन्छ।’
मौसम महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो र राति यस्तो छ, वर्षाको सम्भावना:
आज दिउँसो : सबै प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान, बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति : गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान, कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
मौसम महाशाखाका अनुसार कमजोर अवस्थामा रहे पनि नेपालमा अझै मनसुन छ। साथै स्थानीय वायुको पनि प्रभाव छ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख भए पनि हरेक वर्ष यसमा तलमाथि हुने गर्छ।
Shares

प्रतिक्रिया