समाज


कोरोना संक्रमणको केन्द्र बन्दै त्रियुगा क्षेत्र : तर, जाँच गर्न उपकरण अभाव

कोरोना संक्रमणको केन्द्र बन्दै त्रियुगा क्षेत्र : तर, जाँच गर्न उपकरण अभाव

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ५:१८,

तीव्ररूपमा कोरोना भाइरस फैलिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के र आसपास क्षेत्रमा थप व्यक्तिको जाँच गर्न उपकरण अभाव भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्र रूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीयको स्वाबको नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको हो। भुल्के क्षेत्रमा मंगलबारसम्म २४ जना कोरोना संक्रमित भइसकेका छन्।

स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घरमा गरेर झण्डै ६५० जनसंख्या छ।

तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएको हो। अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने भए पनि सोहीअनुसार उपकरण नभएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। स्थानीयले पनि परीक्षणको लागि दबाब दिइरहेका छन्।

नमूना सङ्कलन गर्ने कुनै उपकरण नभएको कारण प्रदेश र सङ्घीय सरकारको मुख ताक्नुबाहेक विकल्प नरहेको सुवेदीले बताए। अहिले भुल्केवासी र गाईघाट बजारवासीले छिटोभन्दा छिटो सबैको स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न माग गर्न थालेका छन्।

भुल्केमा अहिले कोरोना सङ्क्रमित भएका २४ मध्ये १० जना सोही ठाउँका स्थानीय बासिन्दा हुन्।

कोरेना सङ्क्रमित स्थानीयवासी गाईघाट बजारमा विभिन्न पसल सञ्चालन गर्ने र सब्जी व्यापार गर्ने भएका गाईघाट १२ का वडाध्यक्ष जयविक्रम राईले बताए।

अब भुल्केमात्र नभएर कोरोनाको आशङ्कामा सम्पूर्ण गाईघाटवासीको स्वाब नमूना सङ्कलन गर्नुपर्ने अवस्था आएको उनी बताउँछन्।

यता त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरेको बताए।

उदयपुरमा अहिले भुल्के क्षेत्र मात्र नभएर जिल्लाको चौदण्डी नगरपालिकाको सिवाइको मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिदमा समेत भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने अनुमान गर्न थालिएको छ।

ती ठाउँमा पनि तीव्ररूपमा कोरोना परीक्षणका लागि उपकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो।

यस्तै विराटनगर घर भई भुल्केमा अस्थायीरूपमा बस्दै आएका अर्का नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

मङ्गलबार बिहान भुल्केका आठ र बेलुकी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .