काँधमा सेतो कपडाले ढाकिएको शव, वरिपरि रोइरहेका नातेदार, शोकमा उभिएका साथीहरू, अनि आँखा भिजेका अपरिचित मानिसहरू। शुक्रबार साँझ नेपालगन्जका सडकहरू शोकमा स्तब्ध थिए।
सबै सबैले सम्झिरहेका थिए– २५ वर्षीय सुलभराज श्रेष्ठलाई। जो जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली टाउकोमा लागेपछि ढलेका थिए।
सुलभको स्मृतिमा नेपालगन्जको पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, सेतु विक चोक र बसपार्कसम्म शव यात्रा नै भएको थियो। पाँच दिनदेखि छोराको शव कुरिरहेका बुबा नरेन्द्र श्रेष्ठ अन्ततः त्यसदिन आफ्नो छोराको शव बोकेर नेपालगन्ज फर्किएका थिए। प्लेनबाट ओर्लिंदै गर्दा उनले भिजेका आँखा पुछ्न खोजे तर आँसु रोकिएन।
भक्कानिएका बुबालाई देखिएका अन्य मलामीहरूको पनि आँखा रसाएको थियो। सुलभको शव ल्याँइदै गरेको खबरपछि ठूलो संख्यामा मानिसहरू सुलभको घरवरपर भेला भएका थिए।
नेपालगन्ज १ कै १९ वर्षीय आयुष थापाको शव पनि सोही दिन नेपालगन्ज ल्याइएको थियो। शव यात्रामा दुवैको शव थिए।
सुलभको शुक्रबार नै राप्ती नदीको सिधनियाघाटमा अन्तिम संस्कार गरियो भने आयुषको शनिबार। शवयात्रा केवल एक परिवारको शोक होइन, पूरै नेपालगन्जको आर्तनाद देखिन्थ्यो। पूरै नेपालगन्ज सहरले आफ्नै सन्तान गुमाएको पीडा महसुस गरिरहेको थियो।
सुलभ भेरी स्कुलका सांस्थापक सञ्चालक नरेन्द्र श्रेष्ठ र बिना खड्का श्रेष्ठका एक्लो छोरा थिए। भविष्यको सहारा बन्ला भनेको छोरो कलिलै उमेरमा गुमाएपछि यतिखेर आमा बिनाको आँसु रोकिएको छैन।
सुलभ जीवनको नयाँ अध्याय सुरु गर्ने तरखरमा थिए। काठमाडौँ इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ सकेर लाइसेन्स लिने तयारीमा थिए। दीक्षान्त समारोह हुन बाँकी थियो। त्यही कलेजका विद्यार्थी संघको अध्यक्ष भएर उनले नेतृत्व क्षमता देखाइसकेका थिए। साथीभाइबीच लोकप्रिय, ऊर्जा र प्रेरणाको स्रोत थिए उनी।
‘भर्खरै पढाइ सकाएको थियो, कन्भोकेसन बाँकी थियो,’ सुलभका ठूलोबुबा राजेन्द्र श्रेष्ठले भने, ‘लाइसेन्सको तयारी गर्दै थियो। मिल्यो भने अमेरिका गएर राजनीतिशास्त्र पढ्ने ठूलो धोको छ पनि भन्थ्यो। यसरी छोडेर जाला भन्ने सोचेका थिएनौँ।’
सुलभ नातेदार दाइ, भाइ र मामासँग काठमाडौँस्थित शंखमुलमा बस्दै आएका थिए। उनी भ्रष्टाचारविरोधी जेन जी आन्दोलनमा सहभागी होलान् भनेर परिवारलाई थाहा थिएन। राजेन्द्रका अनुसार अभिभावकले उनलाई बारम्बार ‘नजानु है’ भनेका थिए।
‘हामीले नजानु है भनेका थियौँ, खोइ कुन बेला आँखा छलेर गयो थाहा नै भएन,’ ठूलोबुबा राजेन्द्रले भने, ‘कलेजमा इन्जिनियरिङ विद्यार्थी संघको नेता पनि भएको थियो। सायद त्यही भएर साथीहरूबीच सल्लाह भएर गएको थियो कि जस्तो लाग्छ।’

बानेश्वरमा गोली लागेपछि दिउँसो १ः३० बजे अस्पताल पुर्याइएका उनलाई ट्रमा सेन्टरले मृत घोषणा गरेको थियो।
नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजाल जेनजी आन्दोलनले एकै वडाका दुई कलिला युवा गुमाउँदा वडा नै पूरै शोकमा डुबेको बताउँछन्।
‘सुलभ जेहेन्दार थियो। पूरै नेपालगन्जकै आशाको अनुहार थियो। यसले सबैलाई दुःखी तुल्याएको छ, जसकारण शवयात्रामा धेरै सहभागी भए,’ वडाध्यक्ष रिजालले भने।
श्रेष्ठ परिवारका अनुसार कतिपयले काठमाडौँमै अन्त्येष्टि गर्न सुझाव दिए पनि आफ्नै गाउँसहरमा गरौँ भनेर नेपालगन्ज नै पुर्याइएको हो। स्थानीयको पनि उही सुझाव थियो– सुलभ हाम्रो सन्तान हो, यहीँ अन्त्येष्टि गरौँ। त्यसैले उनको अन्तिम संस्कार काठमाडौँमा नभई उनकै सहरमा गरियो।
सुलभको निधनमा काठमाडौँ इन्जिनियरिङ कलेजले पनि गहिरो शोक प्रकट गरेको छ। कलेजका उप–प्राचार्य अर्जुन पौडेलले फेसबुकमै भावुक श्रद्धाञ्जली लेखेका छन्–‘हामीले हाम्रो असाधारण विद्यार्थी गुमाएका छौँ— समर्पित इन्जिनियर, जसमा सपनाहरू र दृढसंकल्प भरिएको थियो। तिमी केवल विद्यार्थी मात्र होइन, ऊर्जा र आशाको स्रोत थियौ।’
शुक्रबार साँझ काठमाडौँमा नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ खाइरहेको दृश्य टेलिभिजन पर्दामा छाइरहेको थियो। मन्त्री बन्ने सूचीमा नयाँ–नयाँ नामहरू चर्चामा आइरहेका थिए। तर उता, यही घडी नेपालगन्जको राप्ती किनारमा धुवाँसँगै एउटा अधुरो जीवन खरानीमा परिणत भइरहेको थियो।
जेनजी आन्दोलनको जगमा बनेको सरकारका हेडलाइनहरू राजधानीको गल्लीगल्लीमा गुञ्जिरहेका थिए। तर नेपालगन्जको एउटा घरभित्र त्यतिबेला त्यो समाचारको कुनै मूल्य थिएन— त्यहाँ त केवल आँसु थियो, शोक थियो, अनि थियो भयंकर रिक्तता।
हामीले सुलभका ठूला बुबालाई सोध्यौँ—‘तपाईंको छोराले आन्दोलनमा ज्यान गुमायो। त्यसपछि नयाँ सरकार बन्यो, नयाँ मन्त्रीहरू आए। अब तपाईंहरूको अपेक्षा के छ?’
उनी केही बेर मौन बसे। सायद उनका आँखा रसाए, ओठ थरथराए। शब्दहरूमाथि पीडा भारी भए। उनले यत्ति मात्रै भने, ‘हामी अहिले छोराको शोकमा छौँ। हामीलाई अहिले केही भन्नु छैन।’
Shares

प्रतिक्रिया