अर्थमन्त्री रामेश्वर खनालले चालू अर्थिक वर्षको बजेटमै रहेर काम गर्ने तथा पूरक बजेटको विषयमा सोच्न सकिने बताएका छन्। चालू आर्थिक वर्षको बजेटमा जानै नपर्ने ठाउँमा गएको बजेट निकालेर अत्यावश्यक काममा लगाउने उनले बताएका हुन्।
६ महिनाभित्रमा यो सरकारले निर्वाचन गर्नैपर्छ, उनले भने, कुनै हालतमा पनि संविधानको परिधिभित्र रहेर पनि ६ महिना निर्वाचन गर्नै पर्ने हुन्छ । त्यसपछि म्याद थप गर्न सक्ने सम्भावना छैन। त्यसैले कतिपय थप खर्च गर्नुपर्ने हुन्छ जुन यसपटकको बजेटमा प्रबन्ध गरिएको थिएन। अब त्यो बजेट भित्रैबाट निकाल्नु पर्ने हुन्छ।
पूरक बजेट वा अरु कुनै पनि किसिमको विकल्प सोच्नुपर्ने अवस्थामा सरकार नभएको भन्दै खनालले बजेटभित्रै रहेर बजेट खर्चका निम्ति गरिएका विनियोजन कटौती गर्नुपर्ने हुन सक्ने वा बजेटभित्रै रहेर तयारी नभएका, अध्ययन नभई प्रोजेक्ट बैंकमा अन्तिम समयमा राजनीतिक दबाबमा छिर्याइएका बजेटबाट कटौती गर्नुपर्ने बताए।
अर्थमन्त्रीको स्वागत गर्दै अर्थ सचिवले चालू बजेटभित्रैबाट १०० अर्ब रुपैयाँ कोतरकातर गरेर निकाल्न सकिने ब्रिफ्रिग गरेपछि खनालले यहि बजेटबाट निर्वाचन खर्च तथा पुननिर्माण खर्च जुटाउने बताएका हुन्।
यदि निर्वाचन सुरक्षित हुन सकेन भने त्यसको जिम्मेवारी अर्थमन्त्रालयले लिनुपर्ने हुन्छ, उनले भने, त्यसको लागि जथाभावी खर्च गर्ने होइन तर सानातिना कार्यक्रममा गएका तथा खर्च नहुने बजेट सदुपयोग गर्ने हो।
आफू ३१ वर्ष सरकारी सेवामा हुँदा र त्यसपछिका यतिका वर्षमा पनि सिंहदरबारमा यत्तिको विध्वंश कहिल्यै नदेखेको भन्दै उनले सिंहदरबार युद्धभूमिमा प्रवेश गर्दा खण्डहर जस्तो, फिल्महरू वा कुनै टेलिभिजन डकुमेन्ट्रीमा देखेको जस्तो देखिएको बताए।
तर यो विध्वंश ठूलो परिवर्तनका लागि गरिएको भन्दै खनालले प्रधानमन्त्री तथा युवाहरूले परिवर्तन चाहेको तथा यसका लागि अनुभवी हातहरू चाहिएका कारण युवाहरुसँग मिलेर अगाडि बढ्ने पनि बताए।
आइन्दा मुलुकलाई भ्रष्टाचारबाट पुरै मुक्त गर्नुपर्ने भन्दै खनालले युवाले आफ्नो ज्यान नै गुमाउने गरी युद्ध वा आन्दोलनमा होमिएको कारण अब आइन्दा नजानेर पनि , जानेर त गर्न कुरै भएन, गल्ती गर्ने काम नगर्न कर्मचारीहरुलाई आग्रह गरे।
‘कुनै विषयमा शंका लाग्छ, मैले यो काम गर्दा नेपाल सरकारको स्रोतको दुरुपयोग हुन्छ, करदाताको पैसाको सही प्रयोग हुन सक्दैन कि, सार्वजनिक सम्पत्तिको सही प्रयोग हुँदैन कि, सार्वजनिक प्रयोगको निमित्त भनेर खरिद गरेको सम्पत्ति आफ्नो व्यक्तिगत वा अन्य कुनै प्रयोजनमा खर्च गरिएको छ कि भन्ने विषयलाई ध्यान दिएर हामी सच्चिनै पर्छ’, उनले भने।
खनालले कर्मचारी वर्गलाई सच्चिनका लागि विनम्र आग्रह गर्दै यदि गलत काम गरे। आफूलाई प्रशासकीय अधिकार थाहा भएको तथा तुरुन्तै कर्मचारीलाई के गर्नुपर्ने हो गरिने पनि बताए।
‘माया गर्नसम्म माया गरिन्छ, गल्ती गरिसकेपछि माया हुँदैन’, उनले भने, ‘यो मेरो व्यक्तिगत एजेण्डा होइन, यो राष्ट्रको एजेण्डा हो।’
निर्वाचन गर्ने यो सरकार रहुञ्जेलसम्म अर्थमन्त्रालयमा सवारीसाधन किन्ने काम नगरौं भन्ने निर्दैशन पनि खनालले अर्थसचिवलाई दिए।
यसका साथै, निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने भन्दै उनले सर्वसाधारण जनतालाई अर्थमन्त्रालयका निकायले प्रत्यक्ष सेवा नदिने तर बैंकिङ क्षेत्र, नेपाल धितोपत्र बोर्ड, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले सर्वसाधारणलाई सेवा दिने र त्यसपछिका सबै सेवा निजी क्षेत्रले दिने भएका कारण अर्थमन्त्रालयले निजी क्षेत्रसँग नियमित सम्पर्कमा रहेको काम गर्ने पनि उनले बताए।
निजी क्षेत्रले अर्थमन्त्रालयका निकायमा जाँदा हिजोको तुलनामा परिवर्तन भएको छ है भन्ने अनुभव गर्न पाउनु पर्ने पनि उनको भनाइ थियो।
निजी क्षेत्रलाई साथ लिएर हिड्दा मात्र सरकारको राजस्वमा कमी नआउने भन्दै उनले राजस्व असुलीको लागि कतिपय अवस्थामा कडा हुनुपर्ने, कतिपय अवस्थामा करदातालाई प्रसन्न पार्न सक्नुपर्ने र कतिपय अवस्थामा नरम हुन सक्नुपर्ने पनि बताए। राजस्व असुलीका लागि ज्यादै क्रुर हुनुपर्ने आवश्यक छैन, हामी नरम भएर पनि राजस्व संकलन गर्न सक्छौं, उनले भने, यो राज्य करबाट नै चल्ने हो भनेर हामीले निरन्तर भन्न सक्नुपर्छ।
अन्तमा उनले यी सबै कुराहरु आफ्नो व्यक्तिगत निर्देशन नभई, नासो ल्याएर कर्मचारीलाई पास गरेको पनि बताए। उनले भने, ‘हामी एउटै ढुंगाका सहयात्री हौं। मेरो घरमा बिहान साँझ आएर निजी मागहरु राख्ने काम नगर्नुहोला।’
तर, कार्यालय प्रयोजनका लागि आफु सधैं खुला रहेको भन्दै खनालले होटल रेस्टुरेन्टमा गएर काम नगर्न पनि सचेत गराए।
‘यदि मेरो घर देख्नु भएन भने मलाई अत्यन्तै खुसी लाग्नेछ’, उनले भने, ‘मैले स्वकीय सचिव नराख्ने घोषणा गरेको छु। तर, फोन उठाउनुपर्ने भएकाले एउटा चालक भने चाहिन्छ।’
Shares

प्रतिक्रिया