समाज


पहिले दिनमै ४० वटासम्म शव जलाइने पशुपतिमा अहिले बढीमा १५, मृत्यु नै कम हुन थालेको हो?

पहिले दिनमै ४० वटासम्म शव जलाइने पशुपतिमा अहिले बढीमा १५, मृत्यु नै कम  हुन थालेको हो?

पूर्णप्रसाद मिश्र
बैशाख ८, २०७७ सोमबार ८:३४,

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा समस्या भएको छ।

धनुषाका विमल गौतमले सोमबार बिहान विद्युतीय शवदाह गृहमा आमाको दाहसंस्कार त गरे तर पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा १ सातादेखि सेवा बन्द भएको जानकारी पाए।

गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाइरहेका छन्।

गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वरसम्म पुगे। उनका दुवै दाजुभाइ राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भएको हो।

राजधानीमा घर हुनेले पनि आफूलाई आवश्यकबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन। यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ।

पशुपतिको अत्यावश्यक एवं अति संवेदनशील यो सेवा बन्द हुँदा समस्या परिरहेको धेरैले गुनासो गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरू किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउँछन्।

‘किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौं, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ,’ उनले भने।

पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ। तीमध्ये २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन्। जसमा दिनको ५ सय रुपैयाँ शुल्क लिइन्छ।

२० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन। यी कोठामा भने दिनको २ सय शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले राससलाई जानकारी दिए।

‘एउटा किरियापुत्रीले राडी मण्डीलगायत सामग्री प्रयोग गरिसकेपछि धोएर अर्कोलाई दिने व्यवस्था थियो, बन्दाबन्दीका कारण धुने सेवा दिने कम्पनीका कामदार आउन नसक्ने भए, नधोईकन अर्कोलाई दिन नसकिनेलगायत स्वास्थ्यसम्बन्धी असुरक्षाका कारण सेवा बन्द गर्न माथिबाट आदेश आएअनुरूप गरेका हौं,’ उनले भने।

पशुपतिमा कम आउन थाल्यो शव
बन्दाबन्दी सुरु भएयता पशुपतिमा शव जलाउन ल्याउने क्रम घटेको छ। गत चैत ११ गतेअघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० वटासम्म शव ल्याउने गरिएकामा अहिले दिनमा बढीमा १५ वटासम्म शव ल्याउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

बन्दाबन्दीका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत कम भएकाले शव कम हुन थालेको हुन सक्ने कोषको अनुमान छ।

देशविदेशबाट हुने उडान हाल बन्द छ। जसका कारण विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ।

झन्डै सय शव विदेशमै रहेको खबर हालै सार्वजनिक भएको छ। यातायात सहज नभएपछि उपत्यकाको काठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ। यातायात सहज भएका बेला काठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे।

यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काठ क्षेत्रमै रहेका घाटमा शवदाह गर्न थालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad