समाज


अस्पतालको मुटु कमाउने दृश्य : मृत्यु भएका सबैको टाउको र छातीमा गोली

कलिला युवाहरूको भटाभट मृत्यु भएपछि सम्हालिन सकेनन् डाक्टर
अस्पतालको मुटु कमाउने दृश्य : मृत्यु भएका सबैको टाउको र छातीमा गोली

प्रज्ञा तिम्सिना
भदौ २३, २०८२ सोमबार २१:२१, काठमाडौँ

बिहान नौ बजेदेखि सधैँ बिरामीको चाप हुने राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार फरक दृश्य देखियो। दिउँसो १ बजेपछि अस्पतालमा तारन्तार घाइते आउन थाले। 

टाउको, छातीमा गोली लागेका, आँखामा चोट लागेका घाइतेले आकस्मिक कक्ष भरिन थाल्यो।

सबै चिकित्सक अरु काम छाडेर आकस्मिक कक्षमा आउन थाले। 

बढ्दो घाइते युवाको भीडले चिकित्सक सुरुमा अलमल्लमा परे। 

उनीहरू हतारहतार घाइतेको उपचारमा जुटे। तीन जनाको अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भइसकेको थियो। अन्यको अवस्था पनि दर्दनाक थियो। 

त्यसपछि पनि मृत्यु हुने क्रम रोकिएन। चिकित्सकहरूले ट्रमा सेन्टर ल्याइपुर्‍याएका ८ जना युवाको लगातार मृत्यु घोषणा गर्नुपर्‍यो। जस्तै विपत्तिमा पनि मन बलियो बनाएर, सम्हालिएर उपचारमा जुट्ने चिकित्सकहरूको पनि मुटु थर्थरायो, हात काँप्यो। 

‘मैले भूकम्प, कोरोनामा धेरैको मृत्यु भएको देखेको छु। तर आज सम्हाल्न नसक्ने दृश्य देखियो,’ उपचारमा संलग्न एक डाक्टरले भने।

अस्पतालमा यस्तो दर्दनाक अवस्था पहिलोपटक देखेको उनको भनाइ छ।

‘भर्खरका जवान युवकहरूको धमाधम मृत्यु हुन थालेपछि धेरै चिकित्सक आफैलाई सम्हाल्न सक्ने अवस्थामा थिएनन्,’ उनले भने, ‘घाइतेहरूको अवस्था देखेर सबै चिकित्सकको आँखाभरि आँसु थियो, यस्तो अवस्था देखेर हामी आफै हतास भयौँ।’ 

‘आखिर यो केका लागि गर्दैछौँ? हाम्रा युवालाई मारेर के जित्न खोज्दैछौँ हामी?’ आँसु पुछ्दै उनले प्रश्न गरे।

उनका अनुसार मृत्यु भएका सबैको शरीरको माथिल्लो भागमा गोली लागेको थियो।

‘मृत्यु भएका सबैको टाउको, आँखा र मुटुमा गोली लागेको थियो। हेर्दा मार्ने मनसायबाट नै गोली हानेको देखिन्छ,’ उनले भने। 

अस्पतालका हाडजोर्नीरोग विशेषज्ञ डा दीपेन्द्र पाण्डे अस्पताल भर्ना भएका धेरैलाई गोली लागेको बताउँछन्। 

‘केहीको कलेजोमा समेत असर गरेको छ। पेट, हात खुट्टामा चोट लागेकाहरूलाई शल्यक्रिया गरेर बचाउन सकिन्छ,’ उनले भने। 

प्रदर्शनीस्थल बानेश्वरकै सिभिल अस्पतालमा पनि उस्तै अवस्था थियो। सिभिल अस्पतालका चिकित्सक डा रमेश पन्त यस्तो दृश्य पहिलो पटक देखेको बताउँछन्। 

‘अस्पताल घाइते प्रदर्शनकारीको भीडले अस्तव्यस्त बनेको थियो। घाइतेहरू सोमबार १२ बजेदेखि अस्पताल आउन थालेका थिए। एकै पटक २०० सय हाराहारीमा घाइतेहरू आउँदा भीड थेग्न अस्पताललाई हम्मेहम्मे परेको थियो,’ उनले भने।

आकस्मिक कक्षका सबै शय्या घाइतेले भरिएपछि ओपीडी कक्षमा पनि घाइते राखिएको थियो। 

‘सबै सानासाना थिए, टाउको, खुट्टाबाट रगत बग्दै आएका थिए, दर्दनाक अवस्था थियो,’ डा पन्त भन्छन्, ‘त्यो देख्दा हामी पनि भावुक भयौँ।’

डा पन्त अस्पताल आएका धेरै घाइतेलाई टाउकोमा चोट लागेको बताए। 

सिभिल अस्पतालमा न्युरो सेवा नभएका कारण अन्य अस्पतालसँग सहयोग माग्नु परेको यनले सुनाए। ट्रमा, वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा ३५ जनालाई  रिफर गरिएको उनले सुनाए।

सिभिलमा हाल १७० जना घाइतेको उपचार भइरहेको छ। अस्पतालको जनशक्तिले थेग्न नसकेपछि स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट ४ जना चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ। 

सिभिलमा प्रहरीले इमर्जेन्सीमै अश्रुग्यास हानेपछि उपचारमा समस्या भएको थियो। 

सिभिलका डा अभिषेककुमार झाले भने, ‘यो त युद्ध अपराधभन्दा चर्को भयो।’

अश्रुग्यास हानिएपछि चिकित्सक र स्वास्थ्यकर्मीलाई अवस्था सम्हाल्न निकै गाह्रो भएको डा झाले बताए। 

सिभिल अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ। 

मृत्यु भएका तीन जनाको छातीमा गोली लागेको अस्पतालले जनाएको छ। 

घाइतेको प्रश्न : म ठिक त हुन्छु नि?
त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइते चिकित्सकलाई सोधिरहेका छन्– म ठिक त हुन्छु नि?

गोली लागेर उपचारमा आएका उनको प्रश्नमा चिकित्सक ढाडस दिँदै भन्छन् ‘ठिक भइहाल्छ, नडराउनु है।’

त्रिवि शिक्षण अस्पतालमा १६ वर्षका बालकदेखि ३१ वर्षसम्मका २४ जना घाइतेकोे उपचार भइरहेको छ। 

भर्ना भएका ४ जनालाई गोली लागेको छ। उनीहरू घाँटी, टाउकोमा चोट लागेर अस्पताल पुगेका थिए। 

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईं घाइते २४ जनाको भर्ना गरेर उपचार भइरहेको जनाए। 

पाटन अस्पतालमा गोली लागेका ४ जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार भर्ना भएकामध्ये १ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

ट्रमा सेन्टरमा आफन्तको भिड

४२२ जना घाइतेको उपचार हुँदै
यो समाचार तयार पार्दासम्म सोमबार भएको जेनजी प्रदर्शनमा ४२२ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १९ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी १४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ। 

ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ। 

वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको छ। 

एभरेस्ट अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ। 

पाटन अस्पतालमा ६ जना घाइते छन्। 

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३१ जनाको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ।  

नर्भिक अस्पतालमा ३ जना घाइते छन् भने अन्नपूर्ण न्युरोमा ४ जनाको उपचार भइरहेको छ।  

कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ। झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ। सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाईतेको उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad