स्वास्थ्य बीमामा आबद्ध भएका बिरामीले आठ प्रकारका रोगको उपचार सेवा पाउने भएका छन्। त्यसैगरी विपन्न नागरिकले पनि उपचारकाे एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागू गर्न लागेको हो।
एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ पहिलो संशोधन’ स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने बताए।
‘अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ र यो सुविधा कार्तिक १ गतेबाट बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ,’ उनले भने ‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बीमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ।’
प्रवक्ता बुढाथोकीले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्ने जनाए।
‘मन्त्रालयले सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बीमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ,’ उनले भने।
निर्देशिकाको दफा ४ (क) मा ‘विपन्न नागरिकका लागि आठ कडा रोगमा उपलब्ध गराउँदै आएको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य विमित हुनुपर्ने व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया