रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानले आफूलाई आगो लगाउनुअघि रेकर्ड गरेको भिडिओ सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा उनले रुवीको हत्या स्वीकार गर्दै रुवीविना आफू पनि नबाँच्ने भनेका छन्। नौ मिनेट ३६ सेकेन्डको भिडिओ रेकर्ड गरेपछि उनले आफ्नै शरीरमा आगो लगाएकाे पाइएकाे प्रहरीले जनाएको छ
माधव नारायण- ६ निवासी पासवानलाई प्रहरीले आगोले जलेको अवस्थामा बुधबार बिहान पक्राउ गरेको छ।
रुवी साहका हत्या आरोपीले आफैँलाई आगो लगाए, घाइते अवस्थामा पक्राउ
गएको शनिबार राति रुवीको शव गौर नगरपालिका-९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो।
पासवानले रुविको शव फाल्नका लागि रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा रिक्सा बिग्रिएपछि शव सडकमै फालेर उनी फरार भएका प्रहरी अनुसन्धानबाट खुलेकाे छ।
शव फाल्नको लागि प्रयोग भएको ईरिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।
आफूलाई जलाउनुअघि पासवानले सबैलाई नमस्कार छ भन्दै भिडिओ रेकर्ड गरेका छन्। धेरै गर्मी भएको भन्दै पसिना पुछ्दै उनी कुरा सुरु गर्छन्। सुरु र अन्तिममा नेपालीमा बोलेका उनले सम्पूर्ण घटना विवरण भने हिन्दी भाषामा सुनाएका छन्।
सार्वजनिक भिडिओमा उनको भनाईको सार यसप्रकार छ:
कोही कसैको ज्यान त्यतिकै लिँदैन। बाध्यता भएपछि मान्छेले कसैको ज्यान लिन्छ। समस्या के थियो भने, उनकी (रुवीकी) आमा बहुत खराब थिइन्। अरुको धनदौलत, सुनचाँदी देख्दा उनी छोरीलाई तनाब दिन्थिन्। मेरो नाम लिएर गाली गर्थिन्।
कसैकाे सुनचाँदी देख्दा उनलाई जलन हुन्थ्यो।
राजन महतो बहुत खराब छ। उनले पनि पैसा धनदौलत देखाएर रुविलाई आफूप्रति आकर्षित गर्ने प्रयास गर्दै आएको थियो। राजा नाम गरेको राजुले पनि उनलाई आफूप्रति आकर्षित गर्थ्याे। रुवीकी आमा छोरीलाई पैसावाला केटासँग जाउ भन्थिन्।
एकपटक रुवीले बाथरुममा नुहाउँदै गरेको भिडिओ बनाएर पनि उनीहरूले व्ल्याकमेलिन गरेछन्। मसँग सुतिनस् भने यो भिडिओ सार्वजनिक गर्छु भनेर धम्की दिएछन्।
म गरिब थिएँ। रुवीसँग ६ कक्षामा पढ्दादेखि नै उनीसँग मेराे प्रेम सम्बन्ध भएको हो। १० कक्षामा पढ्दै गर्दा हामीले भागी विवाह गरेका थियौँ। भारतको सीतामढी र सर्लाहीको मलंगवामा गएर हामीले विवाह गर्यौँ। कोर्टम्यारिज गर्यौँ।
हमीले त्यसरी भागी विवाह गरेपछि उनकी आमाले धेरै सताइन्। हामीलाई अलग गरिन्। त्यसपछि रुवीको अन्तै विवाह भयो।
म गरिब थिएँ, मसँग पैसा थिएन। छोरीले अन्तै विवाह गरेपछि पनि आमाले उनलाई सुखशान्ति दिइनन्। तनाव दिइरहिन्। मेरो नाम लिएर पनि रातदिन उनी छोरीलाई गाली गर्थिन्। जीवनमा कसैलाई यस्तो गर्नु हुँदैन।
त्यो दिन (हत्या भएको दिन) रुवी मलाई भेट्न आएकी थिइन्। हामीले सँगै बसेर धेरै कुरा गर्योँ। झगडा पनि भयो। उनले अब म बाँच्दिन , मर्छु भनिन्। मैले तिमी किन मर्छौ? म मर्छु भनेँ। उनले म बाँच्दिन भनिन्। मलै पनि तिमीबिना म बाँच्दिन भनेँ। त्यसछि तनाब भयो। त्यसपछि मैले उनलाई मारेँ।
मान्छे मारेपछि जेल जानुपर्छ। म जेल जान्छु। अब १०/२० वर्ष जेल बस्नुपर्छ। आफूले माया गरेकी मान्छे मरेको कारण उबिना म पनि बाँच्न सक्दिनँ। मेरो घरका आमाबुवाले पनि मलाई नै गाली गर्छन्। उनका आफन्तले पनि उनलाई गाली गर्छन्। म अब बाँच्न सक्दिनँ। आजै आगो लगाएर मर्छु।
मलाई कानुनी सजाय मन्जुर छैन। मलाई कानुनअनुसार जेल हालिन्छ, कुटिन्छ। त्यसले मलाई केही हुन्न। बरु म आजै मर्छु। प्यार कस्तो हुन्छ, समाजले थाहा पाउँछ।
त्यो टेम्पोवालाको केही गल्ती छैन। मैले रुवीको शव टेम्पोमा राख्दा उसले ‘भाइ यसमा कुनै गडबड त छैन नि?’ भनेर पनि सोधेको थियो। मैले केही छैन भनेको थिएँ। प्रहरीले उनलाई छाडिदिनू।
रुवीकी आमा, राजु र राजनलाई सम्झाउनु। उनीहरु धनको धमन्ड गर्छन्। उनीहरू धर्तीमा रहेसम्म कसैले चैनसँग बाँच्न पाउँदैनन्।
मलाई पुलिसले पनि केही गर्न सक्दैन। नेपालका पुलिसले राम्रो काम गर्छन्। म दोषी हुँ। सजाय म आफैँ भोग्छु। पुलिसले मलाई जेल हाल्नु पर्दैन। कडा भन्दा कडा सजाय आफैँ दिन्छु म। म अब बाँच्दिन। म जेलमा बस्न सक्दिन। मेरो जान (रुवी) नभएपछि म बाँच्दिन। म उनलाई उतै भेट्छु।
Shares

प्रतिक्रिया