समाज


पासवानको छातीमा रुवीको तस्बिर, हातमा पनि उनकै नामको ट्याटु

पासवानको छातीमा रुवीको तस्बिर, हातमा पनि उनकै नामको ट्याटु

नेपालखबर
भदौ ११, २०८२ बुधबार १२:३९, काठमाडौँ

रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुवीकुमारी साहका हत्याका आरोपी बुधबार बिहान पक्राउ परेका छन्। 

आफ्नै शरीरमा आगो लगाएको अवस्थामा उनलाई घर नजिकैबाट रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।

रुवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका माधवनारायण ६ निवासी लक्ष्मण पासवानलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ। 

‘उनको शरीर जलेको छ, सामान्य बोल्न सक्ने अवस्थामा छन्’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले भने, ‘सुरुमा स्थानीय अस्पतालमा लगको थियौँ, यहाँ उपचार नहुने भएपछि काठमाडौँ पठाइएको छ।’

उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइँदै छ। पक्राउ परेका पासवानले रुवीको हत्या आफूले गरेको स्वीकार गरेका छन्। 

यस्तै पासवानले छातीको दाहिनेतिर रुवीकै तस्बिरको ट्याटु बनाएका छन्। दाहिने हातमा रुवीकै नाममा ट्याटु खोपेका छन्। 

उनले आफूले रुवीलाई मन पराए पनि परिवारले अर्कै केटासँग विवाह गरिदिएको दाबी गरेका छन्। रुवीको हत्यापछि उनले भिडिओ रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। 

पासवान विवाहित हुन्। उनकी पत्नी घरमै छिन्। रोजगारीका लागि मलेसिया गएका उनी केही समय पहिले मात्र फर्किएका थिए।

रुवीको हत्या शनिबार साँझ नै भएको थियो। हत्यापछि उनले सुटकेसमा प्याक गरेर रिक्सामा मिल्काउन लैजाँदै थिए। तर बीच बाटोमै रिक्सा बिग्रिएपछि शव बाटोमै छाडेर फरार भएका थिए। 

मुडलवा गेटनजिकै सडकमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले आइतबार बिहान सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो। रुवी भने अघिल्लो साँझदेखि नै सम्पर्कविहीन थिइन्।

 
२६ वर्षकी रुवी सामान लिन गौर जान्छु भन्दै आमा र छोरालाई डेरामा छाडेर निस्किएकी थिइन्। भारतको मुजफ्फरपुरका शिवसागर सुडीसँग विवाह गरेकी रुवी छोरो पढाउनकै लागि रौतहटमा डेरा लिएर बस्दै आएकी थिइन्। उनको १३ वर्ष पहिले नै विवाह भएको थियो। 

तर लक्ष्मण पासवानसँग पनि पहिलेदेखि नै सम्पर्कमा रहेको खुलेको छ। त्यस दिन पनि उनी लक्ष्मणलाई भेट्न गएकी थिइन्। त्यही क्रममा हत्या भएको खुलेको छ। 

प्रहरीले भने पासवानको उपचारपछि मात्रै बाँकी अनुसन्धान अगाडि बढ्ने जनाएको छ। 

‘अहिले हामीले धेरै कुरा सोधखोज गरेका छैनौँ। उहाँको उपचार गराउनुप¥यो। ठीक भएर फर्किएपछि मात्रै अरु अनुसन्धान अगाडि बढ्छ’, डीएसपी कार्कीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad