बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाएर सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले असहमती प्रकट गरेको छ।
नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गरेर बनाइएको औषधि भन्दै स्वास्थ्यममन्त्री प्रदीप पौडेलले यही भनौ ५ गते धनगढीमा बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम सुरु गरेका थिए।
मन्त्री पौडेलले खुवाउन सुरु गरेको आयुर्वेदिक औषधि स्वर्ण विन्दु कुनै वैज्ञानिक अध्ययन, आधिकारिक निकायमा दर्ता तथा स्वीकृति अनि अपेक्षित प्रभावको प्रामाणिकताबिना नै सुरु गरेको पाइएको भन्दै विराेध भइरहेकाे छ।
कुनै पनि औषधि बनाउँदा औषधिसहित त्यसमा प्रयोग हुने पदार्थहरू समेत दर्ता गर्नुपर्छ। तर, मन्त्री पौडेलले कुनै निकायमा दर्ता र आधिकारिक रूपमा प्रमाणित नगरिएकाे औषधि बालबालिकालाई खुवाएका छन्।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै सरकारले निर्देशिका जारी गरेर पहिलो चरणमा देशका २५ आयुर्वेदिक चिकित्सालयबाट स्वर्ण विन्दु खुवाउने कार्यक्रम सुरु गरेको हो।
दर्ता र परीक्षण नै नभएको औषधि बच्चालाई खुवाउने अभियान स्वास्थ्यमन्त्रीले गरे सुरु
सरकारको यो कार्यक्रमप्रति नेपासले असहमती प्रकट गरेको हो।
नेपासका अध्यक्ष डा.अरुणकुमार न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिकालाई स्वर्णभस्न स्वर्णकल्प खुवाउने सरकारी अभियानप्रति असहमति प्रकट गरेका छन्।
‘हालसम्म उपलव्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएका हुँदा शिशुहरूमा स्वर्णकल्पबाट प्रतिरक्षा प्रणालीको वृद्धि हुने आधारको अभाव र दर्ता व्याच परीक्षण सार्वजनिक नभएका कारण याे सरकारी अभियानप्रति नेपासको सहमति नरहेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।
नेपासले वैज्ञानिक प्रमाण, बाल सुरक्षा र नियामक पारदर्शिता नआएसम्म उक्त अभियान स्थगित गर्न पनि आग्रह गरेको छ।
हेर्नुहोस विज्ञप्ति

Shares

प्रतिक्रिया