ललितपुरमा ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ १ गते राति ३ बजे ललितपुरको हात्तीवनबाट चालक बद्री नगरकोटीले चलाएको बीएएच ९३४५ नम्बरको ट्याक्सीमा चढेका दुई जनाले उनलाई खुकुरी प्रहार गरेका थिए।
उनीहरुले ट्याक्सीमा चढेपछि चालकलाई ललितपुरको ठैबतर्फ जाउँ भनि लगेका थिए। तर उनीहरुले साथमा खुकुरी पनि लुकाएको पाइएको छ।
ट्याक्सीमा जाँदा ललितपुरको गोदावरी नगरपालिका १४ ठैब दमाइटार सडक खण्डमा पुगेपछि ट्याक्सी रोक्न लगाएर धारिलो हतियार खुकुरीले ट्याक्सी चालक बद्री नगरकोटीको घाँटी र देब्रे हातमा प्रहार गरेर घाइते बनाएका थिए।
ट्याक्सी चालक नगकोटीको साथमा रहेको नगद, मोबाइल सेट र चाँदीको सिक्रीसमेत डाँकाचोरी गरी उनीहरू फरार भएका थिए। घटनापछि फरार रहेका खोटाङ घर भई ललितपुर महानगरपालिका १७ शिवटोल बस्ने सिमन राई र इमाडोल बस्ने १८ वर्षका सविन राईलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार बेलुका पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योग र डाँका चोरीको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। घटनामा प्रयोग गरेको खुकुरी पनि प्रहरीले बरामद गरेको छ।
Shares

प्रतिक्रिया