डाक्टर रामेश कोइरालाले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
पेसाले चिकित्सक भए पनि सामाजिक सञ्जालमा राजनीतिक विषयवस्तुप्रति तिखा टिकाटिप्पणी गरिरहने डा. कोइरालालाई खासगरी राजनीतिक दलका नेताहरूले सम्झिरहेका छन्।
काठमाडौँको बाँसबारीस्थित गंगालाल अस्पतालमा उनी कार्डियोभास्कुलर विभाग प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन थिए। हाल अमेरिकामा रहेका डा. रामेशले बुधबार उतैबाट सामाजिक सञ्जालमा राजीनामापत्र लेख्दै अस्पतालबाट बारिएको घोषणा गरेका हुन्।
यसप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दुःख व्यक्त गरेका छन्।
लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गंगालाल हृदय रोग केन्द्रका अब्बल चिकित्सक रामेश कोइराला र म एकै निर्वाचन क्षेत्रका हुँ। हाम्रो खास भेटघाट र कुराकानी थिएन। मलाई थाहा छ- उनी मसँग उति सकारात्मक थिएनन्। यद्यपि एक अब्बल चिकित्सकका रूपमा उनीप्रति मेरो सधैँ सम्मान थियो। अचानक उनको अमेरिका पलायनको समाचारले दुःखी भएको छु। केही गर्न सक्ने, केही गर्छु भन्नेहरूले देश छोड्ने क्रम कहिलेसम्म चलिराख्ने होला?’
यसअघि राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि डाक्टर रामेशले राजीनामा दिएकाप्रति ‘दु:ख व्यक्त’ गरेका थिए। सामाजिक सञ्जालमा अन्य नेताहरूले पनि डाक्टर रामेशको अमेरिका पलायतप्रति टिप्पणी गरिरहेका छन्।
त्यसो त डाक्टर कोइरालाले आफू नयाँ रूपमा देश फर्किने सम्भावना पनि रहेको उल्लेख गरेका छन्।
राजीनामापत्रसँगै उनले लेखेका छन्, ‘र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासि सिप, देश, पेसा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र, म सो बेला सायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!’
Shares

प्रतिक्रिया