समाज


मौसमविद् भन्छन्ः आज चट्याङ/हावाहुरीको सम्भावना छ

मौसमविद् भन्छन्ः आज चट्याङ/हावाहुरीको सम्भावना छ

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार २:४९,

आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

‘काठमाडौं उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मेघगर्जन, वर्षा र हावाहुरी सुरु भइसकेको छ,’  बिहीबार बिहान उनले नेपालखबरसँग भनिन्, ‘यो बिस्तारै देशका अन्य स्थानमा पनि सुरु हुने क्रममा छ।’

मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

‘वर्षा पनि हुन्छ तर हल्का,’ उनले भनिन्, ‘अहिले बाढीपहिरो जाने वर्षा त हुँदैन तर डर हावाहुरी र चट्याङको हो, कतिपय ठाउँमा चट्याङले मानिसको ज्यान लिइरहेको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।’

उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्यभन्दा अलि बलियै खालको आउने सम्भावना छ।

मौसम महाशाखाले आफ्नो वेबसाइटमा पनि बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः  देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

यो खबर लेख्दासम्म मौसमविद् बासीले तराई क्षेत्रमा भने मौसम आंशिक (घाम बादल घाम) मात्र बदली भएको र देशका बाँकी सबै स्थानमा मौसम सामान्य बदली रहेको जानकारी दिइन्। 

स्थानीय वायु तथा पश्चिमी वायुसमेतको संयुक्त प्रभावले मौसम बदली भएको हो। अहिले नेपालमा प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी, मेघगर्जन र चट्याङको बढी हुने मौसम हो।

याे पनि:

चट्याङ्ले लागेर दुई जनाको मृत्यु, पाँच घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad