समाज


सडकबाट खसेको गाडी भिरमा अड्कियो, पत्नीको मृत्यु, पति घाइते

उज्यालाे नहुँदै हेटौँडामा बस्ने छोरालाई भेट्न जाँदै थिए चौहान दम्पती
सडकबाट खसेको गाडी भिरमा अड्कियो, पत्नीको मृत्यु, पति घाइते

नेपालखबर
साउन २५, २०८२ आइतबार ९:११, काठमाडौँ

रामेछापमा आज बिहान गाडी दुर्घटनामा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते अवस्थामा फेला परेका छन्। 

मन्थली नगरपालिका–६ भलुवाजोरस्थित तामाकोसी किनारको बोक्से पहरामा आइतबार बिहान पाँच बजेतिर बीएसी ९४६३ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा मन्थली नगरपालिका–१ की ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए। 

दुर्घटना स्थलमा राधाका पति ५० वर्षीय उत्तम चौहान गम्भीर घाइते अवस्थामा भेटिएका छन्। सडकबाट खसेको गाडी भिरमा अड्किँदा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। 

‘गाडी खसेको ठाउँबाट करिब तीनसय मिटर जति तल राधाको शव भेटिएको हो,’ डीएसपी भट्टले नेपालखबरसँग भने, ‘शव भेटिएको ठाउँमा गाडीको थोरै पार्ट मात्रै देखिन्छ। गाडीको मूल पार्ट तामाकोसी नदीमा खसेको अनुमान हामीले गरेका छौँ।’

निकैबेरको प्रयासपछि महिलाको शव भिरबाट निकालिएको उनले बताए। घाइते चौहानलाई उपचारको लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। 

चौहान गाडीबाट उछिट्टिएको कारण श्रीमतीसँगै तल खस्नबाट जोगिएको अनुमान प्रहरीले गरेको छ।

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको बेला चौहान दम्पती दुर्घटनामा परेका हुन्। गाडी उत्तम चौहानले चलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad