बागमती


मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप, तर कांग्रेसकै कारण बहुमतका लागि संकट

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप, तर कांग्रेसकै कारण बहुमतका लागि संकट

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बागमती एमालेका प्रमुख सचेतक एका लाल श्रेष्ठ


नेपालखबर
साउन २५, २०८२ आइतबार ९:१७, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ। 

कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्‌बाट विश्वासको मत लिँदै छन्। यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ। 

त्यस दिन संसद्‌मा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँका पक्षमा मत जाहेर गर्न एमालेले आफ्ना २७ सांसदलाई ह्विप जारी गरेको हो। 

‘बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको अनुरोधमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि आउँदो २७ गते मंगलबार दिनको ४ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मत जाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु’, एमाले बागमतीका प्रमुख सचेतक एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत लिँदा बानियाँका पक्षमा बहुमतका लागि ५६ सांसदले साथ दिनुपर्छ। त्यसो त बानियाँकै पार्टी कांग्रेसका ३७ सांसद रहेकाले दुई दलका गरी कुल संख्या ६४ पुग्छ।

तर आन्तरिक किचलोका कारण बानियाँलाई आफ्नै पार्टीका १४ सांसदले विश्वासको मत नदिने चेतावनी दिइरहेका छन्। यसो हुँदा मुख्यमन्त्री बानियाँका पक्षमा बहुमतका लागि संकट देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad