समाज


अवैध ढंगले खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फिर्ता

अवैध ढंगले  खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फिर्ता

दिल्लीबाट उद्धार गरेर नेपाल फर्काइएका महिला


नेपालखबर
साउन २३, २०८२ शुक्रबार ८:५४, काठमाडौँ

अवैध रूपमा भारत हुँदै घरेलु कामदारको रुपमा तेस्रो मुलुक जान लागेका ४० नेपाली महिलालाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेको छ। 

घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, दुबई लगायतका खाडी मुलुकमा जान लागेका उनीहरूलाई दिल्लीबाट उद्धार गरेर काठमाडौँ फर्काइएको हो। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले उनीहरूलाई प्रहरीको मानव बेचविखन ब्युरोको जिम्मा लगाएर बिहीबार साँझ गाडीमार्फत काठमाडौँ पठाइएको जानकारी दिए। 

‘दिल्लीबाट फिर्ता आएका उनीहरूलाई रुपन्देहीमा हामीले रिसिभ गरेर काठमाडौँ पठाएका छौँ,’ पाण्डेले नेपालखबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयमा उनीहरूको संक्षिप्त बयानसँगै अभिलेख राखिएको छ। उद्धार गरिका महिला विभिन्न उमेर समूहका छन्। अविवाहित युवतीहरू पनि त्याे समूहमा छन्।’

उनीहररु गैरकानूनी रूपमा दिल्ली पुगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको थियाे। 

दूतावासले समन्वय गरेर महिपालपुरका विभिन्न होटलहरूबाट ६३ जना नेपाली महिलालाई निकालेको थियो। त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारीमा रहेकाे पाइएकाे दूतावासले जनाएकाे छ। उनीहरूलाई भने छाडिएको दूतावासका अधिकारीहरूले बताएका छन्। 

नेपाल फर्काइएका ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी जाने तयारीमा थिए। उनीहरूलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दलालहरूले दिल्ली पुर्‍याइएको खुलेको छ। 

यसअघि साउन ८ गते पनि ४७ जना नेपाली महिला दिल्लीबाट नेपाल फर्काइएका थिए। उनीहरू भिजिट भिसामा कुवेत जाने तयारीमा थिए। उनीहरू दलाललाई मोटो रकम बुझाएर भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad