समाज


उत्तरकाशीको बाढीपहिरोमा कम्तीमा १८ जना नेपाली बेपत्ता भएको आशंका

बेपत्ता हुनेमा जाजरकोट, बर्दिया, जुम्ला र रुकुमका
उत्तरकाशीको बाढीपहिरोमा कम्तीमा १८ जना नेपाली बेपत्ता भएको आशंका

नेपालखबर
साउन २३, २०८२ शुक्रबार ७:३५, काठमाडौँ

यही साउन २० गते भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भिषण बाढीमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरि १८ जनाभन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ।

सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन्। जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना भन्दा बढी नेपाली नागरिक बाढीमा हराएका गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्। 

त्यसैगरि बाढीपछि बर्दियाका पनि ५ जना सम्पर्कविहीन भएका छन् भने जुम्लाका पनि एजना बाढीपछि परिवारको सम्पर्कमा छैनन्। उनीहरू बाढीमा बेपत्ता भएको आशंका गरिएको छ। उनीहरू सबै बाढी-पहिराे गएको क्षेत्रमा सडक निर्माण, स्याउ टिप्नेसहितका काममा सक्रिय थिए। 

मंगलबार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) हुँदा भारतको उत्तरकाशी जिल्लाको धराली बजारमा भिषण बाढी आएको थियो। बुधबार पौडी गढवालमा पहिरो गएको थियो। उक्त बाढी र पहिरोमा धेरै नेपाली मजदुर परेको आशंका गरिएको हो। 

सम्बन्धित स्थानीय तहका नजप्रतिनिधिहरूले बेपत्ता नेपालीको खोजीमा सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्। 

बाढीपछि कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंह बेपत्ता वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिएका छन्।

सिंहका अनुसार जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन छन्।  

त्यसैगरि उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडामा बुधबार पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन्। सडक निर्माणको काममा खटिएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए। त्यहीबेला पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन्। 

पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएका छन्। त्यसैगरि सोही ठाउँका ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

उक्त पहिरोमा परेर घाइते मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुने सबैकाे नाम खुलिसकेकाे छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad