कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा अमेरिकामा मात्रै २४ सय भन्दा धेरैले ज्यान गुमाएका छन्।
बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार २४ घन्टामा अमेरिकामा २४ सय ७ जनाको मृत्यु भएको छ।
मंगलबार अमेरिकामा २६ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ६ लाख १३ हजार नाघेको छ भने मृतकको संख्या २६ हजार नाघेको छ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट विश्वभर ६ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ५ सय ९७ पुगको वल्र्डओमिटरले जनाएको छ।
संक्रमितको संख्या झण्डै २० लाख पुगेको छ। कोरोनाबाट अहिलेसम्म विश्वभर १९ लाख ९७ हजार ६६६ जना संक्रमित भएका छन्।
अमेरिकापछि गएको २४ घन्टामा युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ मंगलबार ७ सय ७८ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म त्यहाँ मृतकको संख्या १२ हजार नाघेको छ भने संक्रमितको संख्या ९३ हजार नाघेको छ।
मंगलबार फ्रान्समा ७ सय ६२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ हजार ७२९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ।
त्यसैगरी इटालीमा मंगलबार ६०२ जनाको मृत्यु भएको छ। त्यहाँ मृतको संख्या २१ हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ६२ हजार नाघेको छ।
त्यसैगरी स्पेनमा मंगलबार ४९९ जनाले ज्यान गुमाएका छन् भने जर्मनीमा ३०१ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै बेल्जियममा २५४, ब्राजिलमा २०४, क्यानाडामा १२३, नेदरल्यान्डमा १२२, स्वीडेनमा ११४, टर्कीमा १०७, इरानमा ९८, इनडोनेसियामा ६० जनाले ज्यान गुमाएका छन्।
हाम्रो छिमेकी देश भारतमा मंगलबार कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ३ सय ९३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार नाघेको छ।
त्यहाँ मंगलबार एकै दिन १ हजार ३४ जना नयाँ संक्रमित थपिएका छन्।
अर्को छिमेकी देश चीनमा मंगलबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। त्यहाँ हिजो ४६ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया