ad ad

समाज


कोरोना प्रकोपकै बेला अमेरिकामा शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको मृत्यु

कोरोना प्रकोपकै बेला अमेरिकामा शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको मृत्यु

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ८:५७,

आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन्।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएको र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ। आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ।

उता दक्षिणी क्यारोलिना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको मृत्यु भएको छ। टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन्।

अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ।

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात ‘टोर्नाडो’ उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताए। उनले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताए।

जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामबिहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताए। “अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो।” उनले भने।

यो आँधी आइतबारदेखि शुरु भएको हो। अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको “सामाजिक दूरी” सम्बन्धी नियम पनि हटाइदिएका छन्। राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन्।

आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ।

टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ।

अमेरिका कोरोना भाइरसले सबैभन्दा प्रभावित मुलुक हो। त्यहाँ ५ लाख ८७ हजार १७३ कोरोना संक्रमित छन्। २३ हजार ६४४ जनाको त्यहाँ मृत्यु भइसकेको छ।रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .