नेपालखबर ‘राइजिङ नेपाल समिट २०२५’ केही बेरमा सुरु हुँदै छ। नेपालखबर प्रालिको १०औँ वार्षिक उत्सवका अवसरमा समिट आयोजना गरिएको हो। सोल्टी होटलमा केही बेरमा सुरु हुने समिटमा अतिथिहरू आउने क्रम जारी छ।
समिट उद्घाटन केही बेरमा हुनेछ भने समिटमा दुईवटा प्यानल डिस्कसन हुनेछन्। ३:४५ देखि ४:३० सम्म पहिलो प्यानल डिस्कसन ‘डमेस्टिक क्यापिटल : डमेस्टिक ग्रोथ’ विषयमा हुनेछ।
यस सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, निम्बसका प्रबन्धनिर्देशक आनन्द बगारिया, होटल मेची क्राउनकी उपप्रबन्धनिर्देशक अश्लेषा कार्की, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले घरेलु पुँजी र आर्थिक वृद्धिबारे विमर्श गर्नेछन्।
यस सत्रको सहजीकरण नेपालखबरका कन्सल्टिङ एडिटर कुवेर चालिसेले गर्नेछन्। समिटको मुख्य वक्ता पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन्। उनले ४:३० देखि ४:४५ मा लगानीबारे उल्लेख गर्दै छन्।
त्यसैगरी दोस्रो प्यानल डिस्कसन प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)बारे ४ः४५ देखि ५ः३० सम्म हुनेछ। यस सत्रमा नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष रवि रायावरम, दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवर, आद्यन्त फाउन्डेसनका प्रमुख मनोज पौडेल, उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थाबारे छलफल गर्दै छन्। यस सत्रको सहजीकरण चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाललले गर्नेछन्।
त्यसपछि साँझ ५ः३० देखि ६ः३० सम्म ‘नेपालखबर कन्भरसेसन’ चल्नेछ। जहाँ पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले ‘मिसन २०८४, दोब्बर लगानी ः दोब्बर रोजगारी’ विषयक विमर्श गर्नेछन्।
ग्लोबल आइएमई बैंकको प्रस्तुतिमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ नीति निर्माता, निजी क्षेत्र, र विकास साझेदारहरूबीच संवाद, विश्वास र समाधानको नयाँ धरातल तयार गर्ने उद्देश्य राखिएको एउटा प्लेटफार्म हो।
कार्यक्रममा विद्युतीय कार कम्पनी बीवाईडी एसोसिएट पार्टनर रहेको छ भने पोडवे नेपाल अर्को पार्टनर रहेको छ। त्यस्तै लाइफस्टाइल पार्टनर डर्मेडिक र इन्टरनेट पार्टनर सुबिसुका रहेका छन्।
नेपालखबरको वार्षिक प्रमुख सम्मेलनको रूपमा रहेको ‘राइजिङ नेपाल समिट’ले नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता र विकास साझेदारहरूबीच विश्वास, संवाद, र रणनीतिक सहकार्य प्रवर्धन गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपालखबर र यसका सामाजिक सञ्जाल प्लाटफर्महरूमा समिटको प्रत्यक्ष प्रसारण गरिनेछ।
तस्बिरहरू- सरोज नेपाल/सौगात दाहाल
Shares

प्रतिक्रिया