समाज


दूधकोसी थुनियो, बन्यो १ किलोमिटर लामो ताल

दूधकोसी थुनियो, बन्यो १ किलोमिटर लामो ताल

सुमन सुस्केरा
साउन ४, २०८२ आइतबार १६:४१, विराटनगर

विराटनगर । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिँदा नदी थुनिएको छ । यसले करिब एक किलोमिटर दुरी लामो ताल बनेको छ। 

कोसी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीका कारण पुरिएको हो। पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतका अनुसार सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एक स्पानको अधिकांश भाग पुरिएको छ, जसले गर्दा दूधकोसी नदीको बहाव अवरुद्ध भएको हो।

उनका अनुसार केही दिनअघि नै पुलको आधा भाग बाढीले पुरिसकेको थियो भने गएराति पुनः आएको बाढीले पुल थप क्षतिग्रस्त बनाएको छ। 

पुलको पिलरहरू समेत प्रभावित भएका छन् । यता, प्रमुख जिल्ला अधिकारी अ‍नोज कुमार घिमिरेले बाढीका कारण दूधकोसी थुनिएको भए पनि स्थानीय तहको सहयोगमा पानीको बहाव खुलाइएको र अहिले अवस्था सामान्य रहेको बताएका छन्। उनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए।

वडा नम्बर २ का वडाध्यक्ष युजन बस्नेतले दुधकोसी नदीमा एक किलोमिटरभन्दा लामो क्षेत्रमा पानी जमेको छ। सिखु खोलाबाट आएको बाढीले नदीको बहाव अवरुद्ध बनाउँदै दूधकोसी थुनिएको हो।

उनका अनुसार असार २६ गते परेको अविरल वर्षापछि सिखु खोलाबाट आएको गेग्रानसहितको बाढीले नदी किनारमा रहेको ठूल्ठूला ढुंगासहितको बालुवा थुपारेर नदीको बहाव अवरुद्ध बनाएको हो। सुरुमा २००–३०० मिटर क्षेत्रफलमा मात्रै पानी जमेको भए पनि पछिल्ला दिनमा पानीको सतह बढ्दै जाँदा अहिले एक किलोमिटर लामो क्षेत्रमा पानी जमेको अध्यक्ष बस्नेतले बताए।

'बाढीले नदी किनारको खेतबारीमा भने केही क्षति पुर्‍याएको छ,' उनले भने, `यद्यपि बस्ती नजिक नभएकोले तत्काल ठूलो मानवीय क्षतिको सम्भावना भने छैन।´ 

त्यही क्षेत्रमा अवस्थित ८६ मेगावाटको जलविद्युत् आयोजनाको पावर हाउस जोखिममा छ। 

प्रमुख जिल्ला अधिकारी फिल्डमा नआएको तर प्रारम्भिक सूचनाका आधारमा फिल्डमा समस्या नरहेको बताएका छन्। यद्यपि स्थानीयले भने स्थिति स्थलगत अवलोकन गरी जोखिमको वास्तविक मूल्यांकन गर्न आग्रह गरेका छन्।

नदी ताल जस्तो अवस्थामा देखिएको र पुल पुरिएर नदी बाँधझैँ बनेको बताए। वडा नम्बर ४ तर्फ पहिरो खसेको क्षेत्रबाट दूधकोसी पूर्ण रूपमा थुनिन सक्ने खतरा अझै कायमै छ। घटनाबारे सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको पनि बस्नेतले बताए।

‘पुल पुरिएर पानीको सतहमाथि उठेको छ, पानी पुलमाथिबाटै बगिरहेको छ। रातिको समयमा त नदी पूर्ण रूपमा थुनिएको अवस्था थियो,’ उनले भने, ‘पुलको पिलरहरू बांगिएर अब पुनर्निर्माणसमेत चुनौतीपूर्ण देखिन्छ।’

दूधकोसी नदीको सतहमाथि उठेपछि ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको पावरहाउससमेत जोखिममा परेको जनाइएको छ।

प्रदेश सरकारको १५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०७६ सालदेखि निर्माण सुरु भएको पुल बजेट अभावका कारण लामो समयदेखि अधुरै अवस्थामा थियो।

फाेटाे : युजन बस्नेत 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad