यस वर्ष काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन्।
महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गएको असार १८ गते आवेदन खुला गरेको थियो।
जसमा असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए।
आवेदन दिएकामध्ये १६ हजार १३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका महानगरपालिकाले जनाएको छ। देशका ७७ जिल्लाकै विद्यार्थीले छात्रवृत्तिको लागि आवेशन दिएका छन्।
पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १ हजार ९२ आवेदन अस्वीकृत भएका महानगरपालिकाले जनाएको छ।
महानगरको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापन संकायका लागि ४ हजार १६४, मानविकी संकायका लागि ३२ जना, शिक्षा संकायका लागि ९५ जना र कानुन संकायका लागि २५६ जनाले छात्रवृत्ति परीक्षा दिन पाउने भएका छन्।
परीक्षाको लागि छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको महानगरले जनाएको छ। ।
छनोट भएका विद्यार्थीले परीक्षामा सहभागी हुनको लागि महानगरपालिका वेवसाइटबाट प्रवेश पत्र डाउनलोड गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।
छात्रवृत्ति प्रवेश परीक्षा यही साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ। जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ।
परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने महानगरपालिकाले जनाएको छ।
२०८१ मा १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए।
गत वर्षको तुलनामा यसपालि आवेदन दिनेको संख्या करिब ३० प्रतिशतले बढेको छ। यसपालि कम्तीमा ३ हजार ५०० विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान महानगरले गरेको छ। विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याले छात्रवृत्ति प्राप्त गर्नेको संख्या निर्धारित हुन्छ
Shares

प्रतिक्रिया