समाज


ट्राफिक सचेतना कक्षा अब अनलाइनबाटै लिन पाइने

ट्राफिक सचेतना कक्षा अब अनलाइनबाटै लिन पाइने

नेपालखबर
असार २९, २०८२ आइतबार २०:५, काठमाडौँ

ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। 

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका हुन्। 

ट्राफिक नियम उल्लंघन गर्दा कतिपय विषयमा जरिवाना मात्रै तिराए पनि केहीमा भने अनिवार्य कक्षामा सहभागी हुनु पर्ने व्यवस्था छ। मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, रातो बत्तीको उल्लंघन, तिब्रगतिमा अनिवार्य कक्षा लिनु पर्ने व्यवस्था छ। 

मादक पदार्थ सेवनमा २०६८ सालदेखि, लेन अनुशासन उल्लंघनमा २०७२, रातो बत्तीको उल्लंघनमा २०७७ र तिब्रगतिमा २०७९ देखि कक्षामा सहभागी हुनु पर्ने व्यवस्था गरिएको छ। तर अब यी सबै अनलाइन कक्षा सञ्चालन हुने भएको हो। 

अनलाइन कक्षामा सहभागी हुँदा मोबाइलको क्यामेराले आफ्नो फोटो खिचेको हुनु पर्नेछ। 

कक्षामा सहभागी हुँदा एक मिनेटभन्दा बढी बाहिर रहन पाइने छैन। तीन पटक सचेत गराउँदै म्यासेज आएमा र अनलाइन कक्षामा सोधिने ६ प्रश्न मध्ये तीन वटाको सही जवाफ दिन नसकेमा डिसकनेक्ट गरिनेछ। १२ घण्टापछि मात्रै पुनः कक्षामा सहभागी हुन पाइने छ।

उक्त कक्षा अर्को दिन पनि पूरा नगरेमा वा सवारी दर्ता किताव र सडक इजाजतको कारबाहीमा भने सम्बन्धित कार्यालयमै उपस्थित भएर कक्षा लिनु पर्ने व्यवस्था गरिएको छ।    

गृहमन्त्री लेखकले नेपाल प्रहरीले नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा कार्यन्वयन गर्न र यसबाट हुन सक्ने समस्यामा पनि ध्यान दिन निर्देशन दिए। 

यसअघि ट्राफिक नियम उल्लंघन गरे ट्राफिक कार्यालयमा पुगेर सचेतना कक्षामा सहभागी हुनै पर्ने व्यवस्था थियो। 

अब नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था मिलाइएको नेपाल प्रहरीको कार्य विभाग प्रमुख एआईजी सिद्धिविक्रम शाहले बताए। 

नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने गृहमन्त्री लेखकले बताए। 

प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापनमा ध्यान दिन लेखकले निर्देशन दिए। 

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले सामाजको गतिलाई ध्यानमा राख्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताए। 

आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने आईजीपी थापाले बताए। 

अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad