बिहानको ११ बजेर केही मिनेट गएको थियो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो लागि खाना लिएर मानवसेवा आश्रम रानीबन शाखाको डाइनिङ टेबलमा बसिरहेका थिए। छेउमा थिए आश्रमका अध्यक्ष– रामजी अधिकारी।
डाइनिङ टेबलको वरिपरि छोरी गंगा दाहाल, बुहारी तथा पूर्वमन्त्री विना मगर, नातिनी स्मृति दाहलासहित दर्जन बढीले खाना खाँदै थिए।
सेतो कुर्ता, घिउ रङको ज्वारीकोट र भादगाउँले टोपी लगाएका प्रचण्ड आश्रमबारे सोधिखोजी गरिरहेका थिए। आश्रमको संरचना, कार्यशैली र व्यवस्थापनबारे जानकारी लिइरहेका थिए। आश्रममा दूधका लागि गाई पालिएका छन्, बगैँचामा पचासौँ थरीका फलफूल छन्। नर्सरीमा तरकारी उत्पादन भइरहेको छ। सक्ने आश्रितहरू काम गरिरहेका हुन्छन्, नसक्नेहरू बगैँचा र आफ्नो शयनकक्षमा आराम गरिरहेका भेटिन्छन्।
‘एक दिन होइन, दुई दिन होइन। हरेक दिन यसरी सेवा गर्नु साधारण कुरा होइन,’ उनले आश्चर्य मान्दै भने, ‘हामीले देखेको सपना पनि यस्तै हो। उहाँले त्यसलाई विपनामा देखाइरहनुभएको छ।’
‘मेरी दिदी पनि ०५७ सालमा सहिद हुनुभएको हो,’ आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रचण्डलाई सुनाए, ‘दिदी असहाय, उत्पीडित, श्रमिकहरूको मुक्तिको लागि हिँड्नु भएको थियो। मैले पनि अलि फरक तरिकाबाट उहाँको सपनालाई साकार पारिरहेको छु।’
बिहीबार गंगा दाहालले अध्यक्ष अधिकारीलाई तारान्तार फोन गरिरहेकी थिइन्– ‘भोलि आमा सीता दाहालको दोस्रो स्मृति दिवसको दिन हामी आश्रमलाई केही सहयोग गर्न चाहन्छौँ। बुवा पनि आश्रम आउनुहुन्छ।’
शुक्रबार बिहान सवा नौ बजेतिर आश्रममा चहलपहल देखियो। सुरक्षा टोलीसहितको पूर्वप्रधानमन्त्री प्रचण्डको गाडी आश्रमको गेटमा रोकियो। प्रचण्डको सिंगो टिमलाई आश्रमका अभियन्ताहरूले खादा र मालाले स्वागत गरे। गेटबाट केही अगाडि बढेपछि प्रचण्डले पहिलो जिज्ञासा राखे– यो भवन कसरी प्रयोग गरिरहनुभएको छ?
अध्यक्ष अधिकारीले जवाफ दिए, ‘सुकुम्बासी व्यवस्थापनको लागि बाबुराम भट्टराइले निर्माण गर्नुभएको अपार्टमेन्ट हो। लामो समय खाली बसेकाले मन्त्रिपरिषद्को निर्णयबाट हामीले प्राप्त गरेका हौँ। यहाँबाट हामीले २२४ जना सहयोगापेक्षी बुवा–आमा, दाजु–भाइ, दिदी–बहिनीहरूलाई सेवा दिइरहेका छौँ।’

प्रचण्डलाई आश्रमको पाहुना सत्कार कोठामा पुर्याइयो। कोठमा पुग्दै गर्दा भुइँतलाको कम्पाउन्डमा ह्विलचेयरमा बसिरहेका सहयोगापेक्षीतर्फ सरसर्ती आँखा दौडाए। उनीहरू बिहानको भोजनको तयारीमा थिए। पाहुना कोठामा पुगेपछि पछिल्लो दुई वर्षको अपडेट जान्न खोजे। तत्कालीन प्रधानमन्त्री प्रचण्ड मानवसेवा आश्रमको आफ्नै भवन उद्घाटनको लागि दुई वर्षअघि केन्द्रीय कार्यालय हेटौँडा पुगेका थिए।
जतिबेला देशभरका मानव सेवा आश्रमका २३ वटा शाखामा १७ सयभन्दा बढी सडक मानवहरूले सेवा लिइरहेका थिए भने हेटौडामा दुई सयजना आश्रित थिए। त्यस्तै, देशभर १७ सयजनाभन्दा बढीले सेवा लिइरहेका थिए। आश्रमका प्रत्येक कोठा पुगेका प्रचण्डले त्यहाँ तीन घण्टाभन्दा लामो समय बिताएका थिए।
यसपालि एकपटक फेरि आफ्नी दिवंगत पत्नीको सम्झनामा उनी आश्रम आइपुगेका थिए।
अध्यक्ष रामजीले जानकारी दिए, ‘अहिले आश्रममा २१ वटा जिल्लाका २६ वटा शाखामा १ हजार ९१९ आश्रित हुनुहुन्छ। हामीले अहिलेसम्म ११ हजार ७७४ जनाभन्दा बढीको उद्धार गरेका छौँ भने ४ हजार ७५९ जनालाई निको बनाएर पारिवारिक पुनर्मिलन गराइसकेका छौँ। ६० जनाभन्दा बढी त आश्रममै आएर जन्मिएका बच्चाहरू हुनुहुन्छ। अहिले १५५ जनाभन्दा बढी बालिबालिकाहरूले हामीसँग बसेर पढिरहनुभएको छ।’
प्रचण्डले २० मिनेटको दुई डकुमेन्ट्री हेरे। आश्रमको बिहानदेखि बेलुकीसम्मका गतिविधि, सडक मानवहरूको उद्धार, उनीहरूका अवस्था र निको भएपछिका पुनर्मिलनका कथा समेटिएका डकुमेन्ट्री हेर्दा उनी निकै भावुक देखिए। सायद असहायको वेदनाले उनको स्पन्दन झंकृत भयो। कतै आफ्नै पत्नी यादले पो छोयो कि!
प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक जटिल रोगले सीता लामो समय थला परिन्। स्मरण शक्ति गुम्दै गयो भने रोगले बोल्न र चल्न समेत नसक्ने अवस्थामा पुर्यायो। यसरी लामो समय सकसपूर्ण जीवन बाँचेकी सीताले २०८० सालमा प्राण त्याग गरिन्। त्यतिबेला प्रचण्ड प्रधानमन्त्री पदमै बहाल थिए।
करिब एक घण्टापछि उनी ह्विलचेयरमा बसेकाहरूसँग साक्षात्कार गर्न पुगे। हलचल गर्न नसक्ने कोठामै बसेका आश्रितहरूलाई सोधे, ‘कसरी यस्तो अवस्थामा आइपुग्नुभयो?’ तिनका कुरा सुने।
कार्यक्रम हलमा पुगेर भोजनकै लागि बसिरहेकाहरूलाई सोधे– मलाई चिन्नुहुन्छ? कतिको नाम सोधे पनि उनीहरूको बारेमा बुझे। उनी ढुक्कले उनीहरूसँग गफ गरिरहेका थिए। लाग्थ्यो, उनलाई कुनै हतारो थिएन। राजनीतिमा उनको चञ्चलता केही समयको लागि अडिएको थियो। त्यसपछि प्रचण्डलाई बोल्न निम्त्याइयो।
‘आज दिन असार २७ गते मेरो जीवनसाथीको दोस्रो स्मृति दिवस हो। तपाईंसँग भेटघाट गर्ने, भावना साटासाट गर्ने, सीता दाहालप्रतिको एउटा स्मृतिलाई दिगो राख्ने र सबैको निम्ति प्रेरणा बनोस् भन्ने उद्देश्यका साथ आज हामी तपाईंहरूको अगाडि छौँ,’ उनले भने, ‘तपाईंहरू सेवा अपेक्षी सबैप्रति मेरो परिवार, दलको तर्फबाट इमानदारीका साथ सहयोग गरिरहने विश्वास दिलाउन चाहन्छु। देशका धेरै महत्त्वपूर्ण ठाउँमा बसेकाहरू पनि सडकमा पुगेको र सडकबाट झिकेर यहाँ ल्याएपछि उहाँहरूले नयाँ जीवन प्राप्त गरेको, स्मरण शक्ति सबै फर्केर परिवारसँग मिलन भएको सुन्दा कथा जस्तो लाग्छ। तर, यी कथा नभएर यथार्थ हुन्। अन्त्यन्त संवेदनशील परोपकारी काम गरिरहेको यस संस्थाले यथार्थ तपस्याको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु।’

प्रचण्ड बोल्दै गर्दा ड्यासमा बसिरहेका छोरी गंगा र बुहारी विनाका आँखा ओसिलो बनेका थिए। तल टेबलमा सहयोगापेक्षीहरूले बेलाबेला ताली बजाइरहेका थिए। कतिले उठेर सम्मान दर्शाइरहेका थिए।
प्रचण्डले थपे, ‘म प्रधानमन्त्री हुँदा सात प्रदेशको लागि सात वटा गाडी आश्रमलाई दिने भनेर मन्त्रिपरिषदबाट निर्णय गरी अगाडि बढेको थियो। तर, अहिलेसम्म नपाएको खबर पाएँ। यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईं सबैको छिटो प्रगति होस्। सबैको स्मरण शक्ति तेज भएर आओस्। नयाँ जीवन प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु।’
उनी मञ्चबाट तल अर्लिए तयार भएको खानाको थाली सहयोगापेक्षीहरूको अगाडि राखिदिन थाले। उनी अभियन्ताहरूले दिएको खानाको थाली असहायहरूको अगाडि राखिदिँदै गए। छोरी गंगा, बुहारी विना र नातिनी स्मृतिपनि त्यसमा सहभागी भए। करिब १५ मिनेटपछि हलबाट बाहिरिएर तीन लाख बराबरको खाद्यान्न सामग्री, लत्ताकपडा आश्रमलाई हस्तान्तरण गरे। अनि सहयोगस्वरूप एक लाख रूपैयाँ नगद उपलब्ध गराए।
अनि आफ्नो टिमसँगै आफै खाना हालेर आश्रमको डाइनिङमा पुगे। त्यतिबेलासम्म पनि उनको जिज्ञासाहरू मेटिएका थिएनन्। रामजीसँग भलाकुसारी जारी नै थियो। खान सकेर उठ्ने बेला केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकमा मानव सेवाबारे एउटा प्रिजेन्टेसन राख्ने बताए।
त्यसपछि कुनै बेला १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड मानव सेवा आश्रममा भावनात्मक तीन घण्टा बिताएर फर्किए।
Shares

प्रतिक्रिया