समाज


काठमाडौँ वरपरका यी ६ साइक्लिङ रुट: जहाँ दुई घण्टादेखि १० दिनसम्म रमाउन सकिन्छ

काठमाडौँ वरपरका यी ६ साइक्लिङ रुट: जहाँ दुई घण्टादेखि १० दिनसम्म रमाउन सकिन्छ

आयुषा ढकाल
असार २८, २०८२ शनिबार ७:९, काठमाडौँ

काठमाडौँको भीडभाड र व्यस्ततामा प्रदूषण र कोलाहल बिर्सिन छुट्टीको दिनमा कता जाने त? यसको एउटा उत्तम विकल्प साइक्लिङ हुनसक्छ। 

काठमाडौँ वरपर केही घण्टादेखि दस दिन लामो साइक्लिङसम्म गर्न सकिन्छ। ती रुट प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक हिसाबले निकै सुन्दर र रमणीय छन्।

काठमाडौँ वरिपरि साइक्लिङका लागि केकस्ता विकल्प छन् त? नेपालखबरले नेपाल साइक्लिङ संघका अध्यक्ष सुदीप पौडेलसँग विस्तृत कुरा गरेको छ। जहाँ उनले छोटो र सहजदेखि लामो रुटसम्मको जानकारी दिएका छन्ः

काठमाडौँको मध्य भाग हुँदै झोर–टोखाबाट तल झर्ने रुट
यो धेरै जस्तो पर्यटकहरूले प्रयोग गर्ने सरल अनि अति रमणीय रुट हो। यो रुटको लम्बाइ करिब ४० किमि हुन्छ। जहाँ साइक्लिङ गर्न ४ देखि ५ घण्टा लाग्छ। 

यस रुटमा काठमाडौँ सहर भित्रबाट बालाजु, मुड्खु भञ्ज्याङ, काभ्रेस्थली, तीनपिप्ले, झोर हुँदै टोखा झरेर त्यहाँबाट सामाखुसी निस्केर फर्कन सकिन्छ।

यस रुटमा सहरमाथिको सुन्दर प्राकृतिक दृश्यहरूको मनोरञ्जन लिन सकिन्छ। मुड्खुसम्म राष्ट्रिय निकुञ्जको सुन्दर बाटो हेर्दै जान सकिन्छ। सहरबजारबाट जतिजति माथि गइन्छ, ट्राफिक उति नै कम हुँदै जान्छ। मुड्खुबाट काभ्रेस्थली हुँदै तीनपिप्ले निस्कँदासम्म सिंगल लेन रोड र डड रोड भएको ठाउँमा पुग्न सकिन्छ, जहाँ नयाँ संसार अथवा गाउँले जनजीवनको अनुभव गर्न सकिन्छ। सो स्थानमा भर्खर भएका विकास कार्यका दृश्य पनि देख्न पाइन्छ। सहरीकरण गर्ने भन्दै गरिएका विकासको नाममा जमिनको विनास भएको दृश्य पनि देख्न सकिन्छ। भिरालो जमिनमा गरिएको प्लटिङ देख्दा साह्रै दुःख लाग्छ।

स्थानीयहरूसँग कुरा गरेर फरक किसिमको अनुभव बटुल्न सकिन्छ। उनीहरू पनि निकै खुसी हुन्छन् साइक्लिङ गर्दै गएको देख्दा। 

काठमाडौँको भीडबाट केही समयको छुट्टी लिन झोर, टोखातर्फ जाँदा बाटोमा गाउँले स्कुले विद्यार्थी पनि भेटिन्छन्। ती विद्यार्थीसँग केही क्षण बसेर फोटो खिच्दा त सारा थकान मेटिए जस्तो महसुस हुन सक्छ।

टोखा बजारमा पोखरी र चौरहरू छन्। जहाँ स्थानीयहरूको संस्कृति, चाल–चलन पनि नियाल्न सकिन्छ।

बुढानीलकण्ठ पुग्ने रुट 
टोखाबाट साइक्लिङ गर्दै बुढानीलकण्ठ जाने रुट छोटो अनि निकै रमाइलो छ। यो मात्र ९ किमि लामो छ। जसलाई पूरा गर्न डेढदेखि दुई घण्टा लाग्छ।

हरियाली र मठ–मन्दिर मन पराउनेहरूलाई यो रुट अत्यन्त उपयुक्त हुन्छ। टोखाबाट बुढानीलकण्ठपट्टि जादाँ उकालो बाटोका हरियाली दृश्य हेर्दै र बुढानीलकण्ठबाट तल झर्दा ओरालो पिच सडकमा साइक्लिङ गर्दा डाउन हिलको मजा लिन सकिन्छ।

टोखाबाट बुढानीलकण्ठ साइक्लिङ गर्दा मन्दिर, गुम्बा, इस्कोन जस्ता धार्मिक स्थानको आनन्द लिन पनि सकिन्छ। मुख्य धार्मिक स्थल बुढानीलकण्ठ मन्दिर यसै क्षेत्रमा छ। मन्दिरको माथि–माथि हरियो पहाड निकै रमणीय छ। साइक्लिङ गर्दै बुढानीलकण्ठ पुगेको मान्छे एक पटक इस्कोन त अवश्य पुग्छ, किनकि त्यहाँको वातावरण अन्य स्थानको भन्दा फरक छ। 

बुढानीलकण्ठबाट तल झरेपछि महाराजगञ्ज हुँदै काठमाडौँको मुख्य सहर छिर्न पनि सकिन्छ। 

यो रुट निकै छोटो भएको हुनाले लामो समय साइक्लिङ गरेर सो स्थानमा पुग्न चाहनेहरूले ठमेलबाट बालाजु, मुड्खु भञ्ज्याङ, तीनपिप्ले, काभ्रेस्थली, झोर हुँदै टोखा पुगेर बुढानीलकण्ठपट्टि उकालो लाग्न पनि सकिन्छ। 

त्यसैगरी काठमाडौँ ठमेलबाट महाराजगञ्ज हुँदै बुढानीलकण्ठ पुग्न पनि सकिन्छ।

टौदह 
यो साइक्लिङ रुट काठमाडौँको दक्षिणी क्षेत्रमा पर्दछ। यो एक काठमाडौँ छेउछाउको सामान्य रुट हो। ४०–४५ किमि पूरा गर्न करिब ६ घण्टा समय लाग्छ। यस रुटमा साइक्लिङ गर्दा काठमाडौँ भित्रबाट यात्रा सुरु गरेर कालीमाटी अनि चोभारको सुन्दर वातावरणमा घुल्दै टौदह पुग्न सकिन्छ। टौदहको सुन्दर वातावरणमा केही समय आराम गर्न सकिन्छ। 

काठमाडौँको भिडभाड कोलाहलबाट अलिक पर खुला र शान्त स्थानमा बस्न पाउँदा छुट्टै आनन्दको अनुभूति हुन्छ। त्यसपछि बायाँ लागेर बागमती करिडोरको छेउ नयाँ फास्ट ट्र्याक रोड हुँदै बायाँपट्टि ललितपुर लुभु छेउछाउको मनोरम दृश्य हेरेर काठमाडौँ फर्कन सकिन्छ।

 

साँखुदेखि नगरकोटको रुट
यो रुट काठमाडौँबाट साइक्लिङ गर्ने पर्यटकले धेरै रुचाउने रुटमध्येको एक हो। यो ४०–४५ किमि लामोरुट ६ देखि ७ घण्टामा सम्पन्न गर्न सकिन्छ। काठमाडौँको मध्य भागबाट उत्तरतर्फको मार्ग हुदै साँखु पुगिन्छ। 

धेरैजसो पर्यटकहरू ट्राफिक छल्न साइकल गाडीमा लोड गरेर साँखुको जहरसिंह पौवासम्म जाने गर्दछन्। त्यहाँबाट साइकलमा नगरकोट पुग्ने मार्ग निकै सुन्दर, जङ्गलको बीचको बाटो भएकोले रमणीय र बीचबीचमा भेटिने बस्तीहरूले अझै मजेदार हुन पुग्छ। साँखुको फेदीदेखि जङ्गलबीचको बाटो अनि कात्तिके देउरालीको सुन्दर बस्ती हुँदै नगरकोटको टुप्पोमा पुगेर त्यहाँबाट चारैतिरको आनन्दमय दृश्य हेर्दा सारा थकान नै मेटिएको अनुभुति हुन्छ। नगरकोटबाट तेलकोट हुँदै फर्कने क्रममा ओरालो पिच रोडमा साइक्लिङ गर्दा खुला आकाशमा उडेको पंक्षीजस्तो महसुस हुन्छ। तेलकोटको बाटो हुँदै साइक्लिङ गरेर भक्तपुरको कमलविनायक निस्कन सकिन्छ। त्यहाँबाट साइकललाई गाडीमा राखेर फर्कन सकिन्छ।    


  
राष्ट्रिय निकुञ्जभित्रको रुट
यसमा बुढानीलकण्ठ पानी मुहानबाट बायाँपट्टि लागेर गुरुङ गाउँ हुँदै झोर आएर झर्न सकिन्छ। ४०–४५ किमि लामो रुट भएको यस स्थानको शान्त वातावरणमा साइक्लिङ गर्न रुचाउनेहरूको लागि राष्ट्रिय निकुञ्जभित्रको रुट अत्यन्त उपयुक्त हुन्छ।

राष्ट्रिय निकुञ्ज जानको निम्ति काठमाडौँको मध्य भागबाट पानी मुहान पुग्न सकिन्छ। पानी मुहानबाट माथि गएपछि अफरोड साइक्लिङ गर्दै राष्ट्रिय निकुञ्ज छिर्न सकिन्छ। राष्ट्रिय निकुञ्जभित्र छिर्दा टिकट काट्नु हुनाले साइकल र मान्छेको नै शुल्क लाग्छ। मान्छेको १०० र साइकलको १५० रूपैयाँ तिर्नुपर्ने हुन्छ।

राष्ट्रिय निकुञ्जभित्र पनि दुई दिनको साइक्लिङ गर्न सकिन्छ।

एक दिन मात्र साइक्लिङ गर्ने हो भने चाहिँ बुढानीलकण्ठबाट सुरु गरेर गुर्जु भञ्जयाङ्ग अनि गुरुङ गाउँ हुँदै तल झरेर फर्कन सकिन्छ।

यदि दुई दिनको साइक्लिङ गर्ने हो भने पानी मुहानबाट छिरेर मूलखर्क निस्किएर सुन्दरीजल हुँदै काठमाडौँ फर्कन सकिन्छ।

यस स्थानबाट खुलेको वातावरण भएको दिन काठमाडौँ उपत्यकाको सुन्दर दृश्यको आनन्द पनि लिन सकिन्छ।

यो स्थानमा प्रकृतिको मनोरम दृश्य हेर्दै एड्भेन्चर गर्न सकिन्छ। साइक्लिङ गर्दै जाँदा निकुञ्जभित्र पाइने जनावरहरू पनि देख्न सकिन्छ।

अलिक माथि गएपछि गुरुङ गाउँमा रिसोर्टहरू पनि छन्। जहाँ खानेबस्ने राम्रो व्यवस्था छ। जसले गर्दा दुई दिनको साइक्लिङ गर्न जाने पर्यटक त्यहाँ बास बसेर भोलिपल्ट गुर्जु भञ्ज्याङबाट झोर हुँदै फर्कन पनि सक्छन्।

निकुञ्जबाहिर साइक्लिङ गर्न नचाहनेहरूले चाहिँ पानी मुहानसम्म साइकललाई गाडीमा हालेर लग्ने र त्यहाँबाट साइकलमा यात्रा सुरुवात गर्न पनि सक्छन्। फर्कंदा बायाँपट्टिबाट फर्कने हो भने झोरबाट तल झरेर टोखामा पुगेर साइकललाई गाडीमा लोड गर्न सकिन्छ। यदि दायाँपट्टिबाट फर्कने हो भने सुन्दरीजलसम्म आएर साइकललाई गाडीमा लोड गरेर फर्कन पनि सकिन्छ।

सुन्दरीजलको दृश्य निकै सुन्दर छ जहाँ खोला, झरना देख्न सकिन्छ। काठमाडौँ खानेपानी आयोजनाको ड्याम पनि देख्न सकिन्छ। पानीको कलकल आवाजसँगै साइकल चलाएर तल झर्नुको मजा नै बेग्लै छ।  

राउन्ड साइक्लिङ
राउन्ड साइक्लिङमा हिमाल, पहाडको सुन्दर दृश्य देख्न सकिन्छ। विभिन्न जात–जातिका फरक–फरक खाना, धर्म, संस्कृति, भेष–भुषा, फरक भाषाका माहिसहरूबाट नयाँ अनुभव बटुल्न सकिन्छ। यसका साथै सुविधा सम्पन्न लजहरूदेखि लिएर गाउँका होमस्टे लगायत सम्पूर्ण कुराहरूको आनन्द लिन पाइन्छ। अलग स्थानको अलग मौसममा साइक्लिङ गर्दै जाँदा यो एउटा जीवन भरको लागि अविष्मरणीय अनुभव बन्न पुग्छ। 

राउन्ड साइक्लिङ गर्दा काठमडौँको मध्य भागको भीडभाड, हल्लाखल्ला, प्रदूषित हावालाई छिचोल्दै ककनीको सुन्दर वातावरण, मनोरम दृश्य भएको स्थानमा गएर बास बसिन्छ। 

ककनीबाट साइक्लिङ गर्दै दोस्रो दिन मूलखर्क पुगिन्छ। जहाँ निकुञ्जभित्रको मनोरम दृश्यको आनन्द लिन सकिन्छ। निकुञ्जभित्रको शान्त वातावरण, खोला तथा झरनाको कलकल आवाजसँगै साइक्लिङ गर्न सकिन्छ। मूलखर्कबाट केही माथि गुरुङ गाउँमा दोस्रो दिन बास बस्न सकिन्छ।

तेस्रो दिन चिसापानीमा बिताइन्छ। जहाँबाट निकै सुन्दर हिम शृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। हिउँले ढाकिएका हिमालका चुचुरामा सूर्योदय र सूर्यास्त हुँदा टल्किएका हिमालको दृश्यले पर्यटकलाई झनै मोहित बनाउँछ। 

चौथो दिन नगरकोटमा बिताइन्छ, चिसापानीबाट नगरकोट जादाँको रुट निकै सुन्दर अनि रमणीय छ। नगरकोटको भ्यु प्वइन्टबाट अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल, मनास्लु, जुगल आदि हिमालहरू र सूर्योदय अनि सूर्यास्तको सुन्दर दृश्य देख्न सकिन्छ।

पाँचौँ दिन नगरकोटको बायाँ भागबाट झरेर कतै अफरोड त कतै पिच रोडको मजा लिँदै जङ्गल, गाउँले परिवेशलाई नियाल्दै, सिंगल ट्रेलमा हिँड्दै रमाइलोका साथ धुलिखेल पुग्न सकिन्छ। धुलिखेलमा बास बस्न ठूला रिसोर्टदेखि लोकल होमस्टे प्रशस्त मात्रामा पाइन्छ। धुलिखेको चिसो मौसममा त्यहाँको स्वादिलो लोकल खानाको अनुभव गर्न पनि सकिन्छ। 

छैटौँ दिन धुलिखेलबाट कहिले पिच रोड त कतै जंगलको बाटो हुँदै नमोबुद्ध पुगिन्छ, जुन स्थान बौद्ध धर्मावलम्बीहरूको लागि निकै महत्त्वपूर्ण पनि हो। यस स्थानमा पुगेर ध्यान, योग गर्न पनि सकिन्छ। नमोबुद्धबाट जंगलको बाटो हुँदै बल्थली पुग्न सकिन्छ।

सातौँ दिन बल्थलीबाट पनौती हुँदै लाँकुरी भञ्ज्याङ पुग्न सकिन्छ। यो बाटोबाट साइक्लिङ गर्दै जाँदा बिहानबाहेक घाम त्यति लाग्दैन। चिसो हावा खाँदै उकालो बाटो साइक्लिङको मजा लिन सकिन्छ। यो बाटोमा पातलो तामाङ बस्तीहरू पनि भेटिन्छ। लाकुरी भञ्ज्याङ्गमा पुगेको समयमा यदि त्यहाको मौसम खुलेको छ भने काठमाडौँ, भक्तपुर, ललितपुर सिंगै देखिन्छ। यहाँ टेन्टेड क्याम्प रिसोर्टमा बास बस्न पनि सकिन्छ।

लाकुरी भञ्ज्याङबाट तल झरेर लामाटर हुँदै खोकना पुग्न सकिन्छ। यहाँको योमरी निकै प्रख्यात छ। खोकनाको नेवारी संस्कृतिसँग रमाउदै बुङ्मती, फर्पिङ हुँदै आठौँ दिन हात्तीवन पुगिन्छ। यहाँ बास बस्नको लागि निकै राम्रा रिसोर्टदेखि लिएर घुम्न गुम्बाहरू पनि छन्। 

नवौँ दिन चन्द्रगिरिमा पुगेर त्यहाँको सुन्दर वातावरण र भालेश्वर महादेव मन्दिरको दर्शनावलोकन गर्न सकिन्छ। चन्द्रागिरिबाट टिस्टुङ–पालुङको सुन्दर बस्ती देख्न सकिन्छ। नेपालमा पहिलोपटक गाडी बोकेर ल्याइएको बाटो पनि देख्न सकिन्छ। र, केबलकार चढ्न पनि सकिन्छ।

चन्द्रागिरिबाट नागढुङ्गा निस्किएपछि कालु पाँडे पार्कको बायाँपट्टिको बाटो हुँदै भीमढुङ्गा नर्सरी निस्कन सकिन्छ दसौँ दिन। यहाँ साइक्लिङ गर्दा बायाँपट्टि गाडी हिँडेको दृश्य हेर्दै, महाभारतको नौबिसे खण्ड, पृथ्वी राजमार्ग हुँदै धादिङ्गको दृश्य देख्न सकिन्छ। भीमढुङ्गाबाट काठमाडौँको दृश्य पनि निकै सुन्दर देखिन्छ। 

भिम ढुङ्गाको पछाडिको बाटोबाट साइक्लिङ गरेर गोलढुङ्गा हुँदै एघारौँ दिन मुड्खुबाट काठमाडौँ फर्किन सकिन्छ।

राउन्ड साइक्लिङ गर्दा लगभग ५०० किमि पार गरिन्छ। यो यात्राको अनुभव जीवनभरका लागि अविस्मरणीय बन्न सक्छ। ९ सय मिटरको उचाइदेखि २१०० मिटरको नगरकोट, २५०० कै चन्द्रागिरि, २५०० मिटरको चिसापानी, पुग्न सकिन्छ।

समग्रमा भन्नुपर्दा राउन्ड साइक्लिङमा प्रकृति, संस्कृति र एड्भेन्चर तीनवटैको संगम हो। दस दिनको राउन्ड साइक्लिङमा फरक–फरक किसिमको धर्म, संस्कृति, भाषा, खाना, आदिको अनुभव लिन सकिन्छ। 

साइक्लिङको प्रक्रिया
साइक्लिङमा जानुपूर्व साइकल भाडामा दिने पसलहरूमा जनुपर्ने हुन्छ, जुन काठमाडौँको ठमेल, ललितपुर, लैनचौर, आदि धेरै स्थानमा छन्। साइकल भाडामा लिँदा साइकल अनुसार दिनको १००० देखि ५००० सम्म शुल्क लाग्छ। साइकल भाडामा लिएको शुल्कमा हेल्मेट र साइक्लिङ गर्दा प्रयोग हुने सेफ्टी टुल्स पनि सामावेश गरिएको हुन्छ। 

चस्मा, प्याडवाला लुगा, पञ्जा रेनकोट इत्यादि आफैँ व्यवस्था गर्नुपर्छ।

सोलो राइडमा जाने पर्यटकले भने केही रकम वा आफ्नो पासपोर्ट धरौटी राख्नु पर्ने हुन्छ। साइक्लिङ गर्दा गाइडसँग जान चाहेमा गाइडको व्यवस्था पनि साइकल भाडामा लिने ठाउँमा नै गरिएको हुन्छ। धेरैजसो गाइडसँग विदेशी पर्यटक जाने गर्दछन् भने नेपाली साइक्लिङ समूहको लागि पनि गाइडको व्यवस्था हुन्छ। गाइडको शुल्क भने छुट्टै तिर्नुपर्ने हुन्छ। जुन दिनको ३००० देखि ५००० सम्म लाग्ने गर्छ।

साइक्लिङको लागि सबैभन्दा राम्रो समय फागुनदेखि वैशाखसम्म र असोजदेखि मंसिरसम्म हुन्छ। तर कतिपयले भने खुलेको मौसममा रमाउन र एड्भेन्चर गर्न बर्खाको समय रोज्छन्।  

(तस्बिरहरू सबै सुदीप पौडेलबाट प्राप्त)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad