समाज


सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

नेपालखबर
असार २५, २०८२ बुधबार १८:१७, काठमाडौँ

विशेष अदालतले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दा दायर हुँदा अख्तियारले उनलाई अदालतमा उपस्थित गराएको थिएन। परियार बुधबार मात्र अदालत उपस्थित भएपछि इजलासमा बयान तथा थुनछेकसम्बन्धी बहस भएको थियो। 

परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। उनी पछिल्लो समय सूचना तथा प्रशारण विभागका महानिर्देशक थिए। भ्रष्टाचार मुद्दा दायर भएपछि उनी पदबाट निलम्बित भइसकेका छन्।  

महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। 

निर्देशकद्वय वसन्त आचार्य र नमराज ढकालसँग पनि विशेष अदालतले धरौटी माग गरेको छ। 

त्यस्तै कल्पवृक्ष-कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिसहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी गराएको अख्तियारको दाबी छ। अख्तियारले प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी/गराई काठमाडौँ महानगरपालिका/सार्वजनिक संस्थाको सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरे/गराएको तथ्य स्थापित भएको भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad