समाज


टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीसँग अदालतले माग्यो २ लाख धरौटी

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीसँग अदालतले माग्यो २ लाख धरौटी

नेपालखबर
असार २४, २०८२ मंगलबार २१:०, काठमाडौँ

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीसँग विशेष अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ।

मंगलबार न्याधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाएर पहाडी छुटिसकेकी छन्। 

आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पहाडी मंगलबार अदालतमा हाजिर भएकी थिइन्। विशेष अदालतले मंगलबार नै बयान गराएर थुनछेक बहस पनि गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको  अख्तियारको आरोप छ। 

अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ। मुद्दा दायर भएसँगै पहाडी निलम्बनमा परेकी छिन्। 

विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुनील पौडेल निलम्बनमा परेसँगै प्रतिस्पर्धाबाटै पहाडी टेलिकमको प्रबन्धनिर्देशक बनेकी थिइन्। यो मुद्दामा पौडेललाई पनि प्रतिवादी बनाइएको छ। 

टेलिकमका १४ जना कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। 

टेलिकमका कर्मचारीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको आरोप छ। नेपाल दूरसञ्चार कम्पनीको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ। 

२०६८ पुस ६ गते नेपाल टेलिकम र एशियाइन्फो लिङकेज टेक्नोलोजिस् इंकबीच कनभजेन्ट रियल टाइम बिलिङ र कस्टोमर सपोर्टको प्रणाली खरिद गर्दा ६ वर्षसम्म वार्षिक मर्मत करार गर्न सकिने व्यवस्था छ। मर्मत कार्यको लागि करार सम्झौता गर्दा ५ प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि टेलिकमका कर्मचारीले उक्त प्रवधानप्रतिकूल हुने गरी मर्मत खरिद गरेको आरोप छ।

वार्षिक ५ प्रतिशत छुटसहितको एमसी सेवाको प्रावधानप्रतिकूल हुने गरी आपूर्तिकर्ता एसियाइन्फोसँग अस्वाभाविक मूल्य कायम गरी २ करोड ५ लाख ६३ हजार अमेरिकी डलरमा वार्षिक मर्मत सेवा खरिद गर्ने सम्झौता गराउँदा टेलिकमलाई नोक्सानी भएको आरोप अख्तियारको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad