समाज


रसुवामा पनि छ भोटेकोसी?

रसुवामा पनि छ भोटेकोसी?

नेपालखबर
असार २४, २०८२ मंगलबार १२:५६, काठमाडौँ

आज बिहान रसुवाको भोटेकोसीमा आएको बाढीले धेरै धनजनको क्षति गरेको छ। 

भोटेकोसीमा बाढी आउँदा धेरैले सिन्धुपाल्चोक हुँदै सुनकोसीमा मिसिने भोटेकोसी नदीलाई सम्झिए। तर, रसुवाको स्थानीय प्रशासनले भने भोटेकोसी हुँदै आएको बाढी त्रिशूली नदीमा मिसिने भनेपछि धेरै मानिस अन्योलमा परे। धेरैले भाेटेकाेसी सुनकाेसीमा मिसिएर सप्तकाेसीमा पुग्ने सुन्दै आएका थिए।

तर, रसुवाको स्थानीय प्रशासका अनुसार रसुवागढीको टिमुरे हुँदै त्रिशूलीमा मिसिने नदीलाई पनि स्थानीयले भोटेकोसीकै नामले सम्बोधन गर्ने गरेका छन्। तिब्बत क्षेत्रमा भने याे नदी ल्हेन्दे खोलाकाे नामले चिनिन्छ। भाेट हुँदै आउने भएकाले यस नदीलाई पनि भोटेकोसी नै भन्ने गरिएको हो। भाेटेकाेसीकै नामले सम्बाेधन भए पनि सिन्धुपाल्चाेक र रसुवाका नदी फरक हुन्।

सिन्धुपाल्चोक तिब्बतको झाङ्मु क्षेत्रबाट उद्गम भएर नेपाल प्रवेश गर्ने नदीलाई सिन्धुपाल्चोकमा भोटेकोसी भनिन्छ। यो नदी दक्षिणतर्फ बग्दै सिन्धुपाल्चोकको तातोपानी बाह्रबिसे पुगेपछि सुनकोसीमा पुगेपछि सुनकोसीको नामले चिनिन्छ।  दुई वर्षअघि याे नदीमा ठूलाे बाढी आउँदा बाह्रबीसे क्षेत्रमा ठूलाे क्षति पुगेकाे थियाे।

बाह्रबीसेबाट बग्दै यो नदी बलेफीमा पुगेर ब्रम्हायणीमा मिल्छ। दोलालघाटमा इन्द्रावतीमा मिलेर पूर्वतर्फ बग्दै कोसी प्रणालीमार्फत याे नदी भारत छिर्छ र गंगा नदीमा मिसिन्छ।

आज बाढी आएको रसुवागढी नाकाको भोटेकोसी पनि चीनको तिब्बतबाट, केरुङ आसपासको क्षेत्रमा उद्गम भएर नेपाल प्रवेश गर्छ। 

यो नदी दक्षिणतर्फ बग्दै रसुवाको चिलिमे आसपास पुगेपछि त्रिशूली नदीमा मिसिन्छ। त्रिशूली नदी फेरी दक्षिणतर्फ बग्दै देवघाटतिर आएर गण्डकी प्रणालीमा मिसिन्छ। गण्डकी नदी पनि अन्ततः भारतस्थित गंगा नदीमै पुग्छ।
 
रसुवा र सिन्धुपाल्चोकका दुवै भोटेकोसी नदी हिमालय क्षेत्रको सीमाबाट सुरु भएर फरक–फरक ठूला नदी प्रणाली सुनकोशी र त्रिशूलीमा मिसिन्छन्। अनि अन्ततः दुवै नदी गंगा नदीमा पुग्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad