रसुवा जिल्ला प्रशासन कार्यालयले रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोसी नदीआसपास अझै पनि जोखिम रहेकाले सावधानी अपनाउन सम्बन्धित सबैलाई सुझाव दिएको छ।
मंगलबार बिहान ३ बजेतिर रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, रसुवागढीस्थित भोटेकोसी नदीमा भीषण बाढी आउँदा १८ जना बेपत्ता छन् भने ठूलो मात्रमा भौतिक संरचना क्षति भएको छ।
बाढीले रसुवागढीस्थित मितेरी पुल भत्किँदा त्यहाँ नेपाल-चीन सडक सम्पर्क टुटेको, स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनामा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उक्त विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् नागरिक तदारुकता साथ खटिएका छन्।
उनले जारी गरेको सूचनामा भनिएको छ : विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रमा बसोबास गर्नुहुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजना र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।
साथै बाढी-पहिरो वा अन्य क्षतिको सम्भावित जोखिम देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नं. १०० वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को फोनं. ०१०-५४००१९ मा जानकारी गराई गराउनसमेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले अनुरोध गरेका छन्।
हेर्नुहोस् सूचना:

Shares

प्रतिक्रिया