समाज


सिन्धुपाल्चोकको सम्भावित विपद् पूर्वतयारीबारे प्राधिकरण प्रमुखलाई ध्यानाकर्षण

सिन्धुपाल्चोकको सम्भावित विपद् पूर्वतयारीबारे प्राधिकरण प्रमुखलाई ध्यानाकर्षण

नेपालखबर
असार ११, २०८२ बुधबार १५:३९, काठमाडौँ

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटाले जिल्लामा सम्भावित मनसुनजन्य विपद् जोखिम र यसको पूर्वतयारीबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई लिखित ध्यानाकर्षण गराएका छन्।

बुधबार सिंहदरबारस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सांसद सापकोटाले कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग भेट गरी औपचारिक ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन्। उक्त पत्रमा सिन्धुपाल्चोक जिल्लाको समग्र विपद् जोखिम, तयारी अवस्था र आपतकालीन आवश्यकतासम्बन्धी १४ बुँदे सुझाव तथा मागहरू समेटिएको छ।

ध्यानाकर्षण पत्रमा मुख्यरूपमा जिल्लामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि समर्पित इकाई स्थापना, स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक त्रिपाल, टेन्ट, प्लास्टिक, जाली जस्ता राहत सामग्रीको आपूर्ति, चीनको सीमासँग जोडिएको भोटेकोशी नदीमा अर्ली वार्निङ प्रणाली सञ्चालन, नियमित सुरक्षा समन्वय तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग सहकार्य गरी सञ्चार तथा ऊर्जा सेवा अबरुद्ध नहुने व्यवस्थाका विषयहरू समावेश छन्।

पत्रमा खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूलाई आवश्यक उपकरण र स्रोत साधन उपलब्ध गराउन, बन्देउस्थित सशस्त्र प्रहरी बल इकाईलाई सुदृढ गर्ने, अरनिको लोकमार्गसहित अन्य जोखिमयुक्त सडकहरू सञ्चालनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राख्ने विषय छन्। यस्तै सम्भावित विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूका लागि आवश्यक आवास तथा खाद्यान्न व्यवस्था गर्ने र बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति जस्ता संवेदनशील समूहका लागि विशेष व्यवस्थाको माग पनि गरिएको छ।

भेटमा कार्यकारी प्रमुख भट्टले पत्रमा उठाइएका विषयवस्तुलाई गम्भीरतापूर्वक लिँदै आवश्यक समन्वय र सहकार्यका लागि प्राधिकरण प्रतिवद्धा जनाएको सांसद सापकोटाले जानकारी दिएका छन्। सिन्धुपाल्चोकमा २०७१ सालको जुरे पहिरो, २०७२ वैशाखको भूकम्प, लिदि, नागपुजे पहिरो, हेलम्बु मेलम्ची, भोटेकोशी बाढीबाट नराम्ररी प्रभावित भएको विपद् प्रभावित जिल्ला हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad