समाज


सहकारीको रकम फिर्ता गर्ने भन्दै भण्डारीले कम्बोडियाबाटै ठगेका थिए थप साढे तीन करोड

भण्डारीसँग दोहोरो नागरिकता र राहदानी, काठमाडौँमा तीनवटा मुद्दा
सहकारीको रकम फिर्ता गर्ने भन्दै भण्डारीले कम्बोडियाबाटै ठगेका थिए थप साढे तीन करोड

नेपालखबर
असार ५, २०८२ बिहिबार १९:४४, काठमाडौँ

ललितपुरको मितेरी सहकारीको करोडौँ रूपैयाँ ठगी गरेका एक आरोपितलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको छ। इन्टरपोलको सहयोगमा प्रहरीले बुधबार राति ल्याएका व्यक्ति हुन् बर्दियाको बाँसगढी नगरपालिका ७ का ४२ वर्षीय ज्योतिबहादुर भण्डारी। 

मितेरी सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले आफूले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाइल्यान्डमा बसोबास गर्ने ज्योतिबहादुर भण्डारीले चलाएको र उनले  फिर्ता गर्ने बताएकी थिइन्। 

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १४४ जना बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी १४ करोडभन्दा बढी रकम ठगी गरेको आरोप छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो मुद्दामा अनुसन्धान गरिरहेको छ।

सीआईबीकै अनुरोधमा भण्डारीविरुद्ध २०८१ कात्तिक १३ गते इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। उनलाई पक्राउ गरेर नेपाल ल्याएसँगै मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ ठगी सम्बन्धी कसुर र परिच्छेद २५ को दफा २७६ किर्ते कसुरमा अनुसन्धान अगाडि बढाइएको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताए। 

भण्डारीविरुद्ध अनुसन्धानका क्रममा केही तथ्यहरू खुलासा भएको पनि सीआईबीले दाबी गरेको छ। 

मितेरी सहकारीका महाप्रबन्धक ज्योति गुरुङले आफूले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाइल्यान्डमा बसोबास गर्ने ज्योतिबहादुर भण्डारीले चलाएको बताएकी थिइन्। उनले ह्वाट्सएपमार्फत सहकारीका पदाधिकारीहरू र ज्योतिबहादुर भण्डारीबीच सम्पर्क पनि गराएकी थिइन्। 

भण्डारीले मितेरी सहकारी संस्थाका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंक, इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल पठाएको छु भनी ह्वाट्सएपमार्फत नै टोकनको फोटो पठाएका थिए। 

सीआईबीका अनुसार भण्डारीले विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनी विभिन्न नम्बर र नामबाट सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी सहकारी संस्थाका पदाधिकारीहरूको व्यक्तिगत रकम थप ३ करोड ४४ लाख ७४ हजार ३२० रूपैयाँ ठगी गरेको आरोप छ।

भण्डारीको नाममा फरकफरक जिल्लाबाट जारी भएका २ वटा नागरिकता र राहदानी रहेको समेत खुलेको छ। राहदानी नं १०५४८६८८, ना प्र प नं १५८८३ कास्कीबाट जारी भएको थियो। 

राहदानी नं ११३६४६९१, ना प्र प नं १४८०३र जन्मस्थान बर्दिया उल्लेख भएको अनुसन्धानबाट खुलेको छ। 

भण्डारीले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही किर्ते गरेको नागरीकता तथा राहदानीलाई ठगी गर्न दुरूपयोग गरेको समेत सीआईबीको दाबी छ।

भण्डारीले फरक–फरक नामबाट फेसबुक र ह्वाट्सएप चलाएर ठगी गर्दै आएको पनि भेटिएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौँमा विभिन्न मितिमा दर्ता भएका ३ वटा ठगी मुद्दामा समेत उनी फरार रहेको अभिलेख फेला परेको छ। 

उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने आशंकामा प्रहरीले त्यस्ता पीडित भए सीआईबीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad