समाज


सानो पाइला सहकारीमा रविको नाममा एक लाखको सेयर, यस्तो छ अभियोग

सेयर सदस्य बनेकै भोलिपल्ट १ करोड ५० लाख ऋण
सानो पाइला सहकारीमा रविको नाममा एक लाखको सेयर, यस्तो छ अभियोग

फाइल तस्बिर


उजिर कार्की
असार १, २०८२ आइतबार २०:३८, काठमाडौँ

आफू कुनै पनि सहकारीको सेयरधनी वा सञ्चालक नरहेको दाबी गर्दै आएका रवि लामिछानेको स्वामित्वमा पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भने १ लाख रूपैयाँबराबरको सेयर रहेको पाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध आइतबार पर्सा जिल्ला अदालतमा सरकारी वकिलले दायर गरेको अभियोगपत्रमा उनका नाममा एक लाख रुपैयाँको सेयर रहेको खुलाइएको छ।

प्रहरीको अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय पर्साले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।

रवि लामिछाने सानोपाइला सहकारीमा कस्टुमर आईडी ००१–०१५४६१ मार्फत २०७८ साउन १८ गते सदस्य बनी सोही मितिमा उनको नाममा बचत खाता खोलेको भेटिएको छ। जुन खातामा एक लाख रूपैयाँ सेयरबापत जम्मा गरी सोही मितिमा उनको नामको ऋणी खाता बनाई भोलिपल्ट १ करोड ५० लाख रूपैयाँ ऋण जारी गरिएको अभियोगपत्रमा उल्लेख छ। जसअनुसार, २०८२ साउन १८ गतेसम्मका लागि वार्षिक १२ प्रतिशतका दरले ब्याज भुक्तान गर्ने गरी उक्त ऋण लिएको अभिलेख फेला परेको छ।

खातामा उनको ठेगाना काठमाडौँ उल्लेख रहेको तथा श्रीमती निकिता पौडेल र बुवा लालचन्द्र लामिछानेको नाम पनि लेखिएको छ।

उनको नाममा लगेको ऋण सोही दिन २०७८ साउन १९ गते गोर्खा मिडिया नेटवर्कमा जम्मा हुने गरी भुक्तानी भएको भेटिएको छ। गोर्खा मिडिया नेटवर्कको रवि लामिछानेसमेत सञ्चालक रहेकै ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको छ।

रविले भने उक्त ऋणको बारेमा जानकारी नरहेको बताएका थिए।

अभियोगपत्रमा भनिएको छ, ‘सानोपाइला सहकारीको कर्जा अभिलेख रजिस्टरमा रवि लामिछानेलाई ऋण दिएको भनी जनाइएको अभिलेखलाई प्रमाणको रुपमा लिनुपर्ने देखिँदा निजको इन्कारी बयान खण्डित भएको र उल्लेखित तथ्यबाट रवि लामिछानेको प्रस्तुत कसुरमा संलग्नता रहेको पुष्टि हुन्छ।’

रविले सहकारीबाट लिएको साँवा रकम १ करोड ५० लाखको ब्याजसमेत जोड्दा २०७९ साउन ११ गते १ करोड ८६ लाख ९४ हजार ६०४ रुपैयाँ भएकोमा सहकारीलाई उनले एक पैसा नतिरेको र मिलेमतोमा उनको नामको ऋण गितेन्द्रबाबु (जीबी) राईको नाममा ट्रान्सफर गराएको आरोप छ।

यसबाट सहकारीको रकम अपचलनमा रविको गितेन्द्रबाबु राई र अन्य प्रतिवादीहरूसँग मिलेमतो देखिएको अभियोगपत्रमा उल्लेख छ।

रविले डेढ करोड ऋण लिएको तथ्य सहकारीको कम्प्युटरमा पनि फेला परेको र उनले आफ्नो वास्तविक ठेगाना उल्लेख नगरी बागमती, काठमाडौँ मात्रै लेख्न लगाई आफ्नो ठेगाना लुकाउन खोजेको आरोप पनि सरकारी पक्षको छ। 

मुलुकी अपराध संहिता, २०७४ को दफा ३० मा संगठित संस्थाबाट भएको कसुरमा काम गर्ने गराउने आपराधिक दायित्व हुने कुनै फर्म कम्पनी वा संगठित संस्थाले कुनै कसुरजन्य काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरेको हो सोही व्यक्ति जिम्मेवार हुने र व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरू र कम्पनी वा संगठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा संस्थाको हकमा कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नुपर्ने उल्लेख छ।

यही व्यवस्थाअनुसार गोर्खा मिडिया नेटवर्कमा सञ्चालक, सेयरधनी एवं प्रबन्ध निर्देशक समेतको भूमिकामा विभिन्न सहकारीहरूबाट प्रचलित नियम कानुनविपरीत रकम हिनामिना गरी गोर्खा मिडिया सञ्चालनमा ल्याएको आरोप छ। रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा सानो पाइला सहकारीबाट १० करोड ६ लाख ९४ हजार रुपैयाँ गएको थियो। तर, उक्त रकम सानो पाइला सहकारीमा फिर्ता गरेको प्रमाण रवि लामिछाने र छविलाल जोहीले देखाउन नसकेको अभियोगमा उल्लेख छ।

आफ्नो खातामा अस्वाभाविक रूपमा रकम जम्मा हुँदा र उक्त रकम आफैँले हस्ताक्षर गरेका चेकहरूमार्फत बारम्बार भुक्तानी दिँदासमेत उक्त रकमको स्रोतको बारेमा अनभिज्ञता प्रकट गर्नु बदनियतपूर्ण देखिएको अभियोगपत्रमा भनिएको छ। छविलाल जोशीले बयान गर्दा पनि कम्पनीको आर्थिक कारोबार रवि र जीबीले गरेको बताएका थिए। यसबाट रवि कम्पनीको कर्मचारी नभई कम्पनी सञ्चालनमा सक्रिय भूमिकामा रहेको अनुसन्धानको निस्कर्ष छ।

यी आधार देखाउँदै रविको व्यक्तिगत र गोर्खा मिडियामा गएको अन्य रकमसमेत गरी उनलाई ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

रवि लामिछानेको हकमा व्यक्तिगत १ करोड ४७ लाख ४८ हजार र सामूहिक दायित्वको बिगो ३ करोड २ लाख ३२ हजार ६६६ रुपैयाँ उल्लेख छ। 

यस्तै सहकारी संस्थाको मौज्दात हुनुपर्ने रकममा समेत उनलाई प्रतिवादी बनाइएको छ। सानो पाइलामा बुझाउनुपर्ने रकममा रविले ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ थप बिगो कायम गरिएको छ।

उनीहरूलाई सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार सजाय माग गरिएको छ।

यस मुद्दाका २९ जना प्रतिवादीमध्ये रवि र छवि रूपन्देही कारागारमा छन्। रामबहादुर खनाल र प्रमोद भट्टराई कास्की कारागारमा छन्। अन्य प्रतिवादी फरार छन्।

उनीहरूले सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ हिनामिना गरेको अभियोग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad