पर्यटक भिसामा नेपाल आई व्यावसायिक गतिविधि गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। अध्यागमन विभागले बिहीबार काठमाडौँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विभागका अनुसार उनीहरूले टिकटकबाट प्रचार गरी विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको तथ्य खुलेको छ। उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै प्रचारप्रसार गरे पनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ।
अनुसन्धानका क्रममा ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई लिउ जुन होटेल विथ रेस्टुरेन्ट स्थापना गर्ने उद्देश्यले व्यावसायिक भिसा प्राप्त गरेका थिए। तर प्रतिबद्धताअनुसार लगानी भित्र्याएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको विभागले जनाएको छ।
उनीहरू सन् २०२४ मा चीनस्थित टिवेट हुइडा इन्टरनेसनल ट्रेड र झिज्याङ स्याङ चेङ हेल्थ इन्डस्ट्रिजका बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अध्यागमनको अभिलेखमा उल्लेख छ।
नेपालमा रहँदा गैरकानुनीरूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाली नागरिकको नाममा ‘नेपाल झांग्नी ट्रेडिङ एण्ड इन्भेस्टमेन्ट’ नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फार्मको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्ने गरेको पाइएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सो बाहेक अन्य कार्य गर्न पाउँदैनन्।
Shares

प्रतिक्रिया