पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको साइबर ब्युरोले पाठकविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति लिएको हो।
यो ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मात्रै हेर्छ। सोही आरोपमा पाठकविरुद्ध पनि पक्राउ गर्न अनुमति लिएको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले यस बारेमा सुनेपछि आफूले पनि ब्युरोमा बुझेको र पक्राउ परिसकेपछि मात्रै के हो कसो हो भन्ने जानकारी आउने भएकाले अहिले धेरै कुरा जानकारी नभएको बताए।
प्रहरीले पाठकविरुद्ध कुन विषयमा कसको उजुरी परेको भन्ने खुलाउन चाहेको छैन। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आर्जु राणाका छोरा जयवीरले हिल्टन होटलको सेयर खरिद गरेको विषयमा पत्रकार पाठकले आफ्नो युट्युव च्यानलमा सामाग्री प्रशारण गरेका थिए।
सेयर खरिद विक्रिको विषयमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो। उक्त सामाग्रीमा आपत्ति जनाउँदै त्यतिबेलै कानुनी कारबाहीमा जाने उल्लेख गरेको थियो।
Shares

प्रतिक्रिया